न्युजिल्यान्डद्धारा भारतलाई १ सय ९ रनको सामान्य लक्ष्य

न्युजिल्यान्डले दोस्रो ओडिआई खेलमा घरेलु टोली भारतलाई १ सय ९ रनको सामान्य लक्ष्य दिएको छ ।
रायपुरमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको न्युजिल्यान्ड ३४।३ ओभरमा १ सय ८ रनमा अल आउट भयो । न्युजिल्यान्डका ग्लेन फिलिप्सले ५२ बलमा ५ चौकासहित सर्वाधिक ३६ रन बनाए ।

मिचेल सान्टनार २७ र माइकल ब्रेसवेलले २२ रनमा आउट भए । भारतको सानदार बलिङ सामु न्युजिल्यान्डका ८ खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । ओपनर फिन एलेन शून्य, डेभन कन्वे ७, हेनरी निकोलस २, डर्याल मिचेल र कप्तान टम लाथम एक एक रनमा आउट भए ।

एक समय १५–५ को दयनीय अवस्थामा पुगेको न्युजिल्यान्डलाई छैटौं विकेटका लागि माइकल ब्रेसवेल र ग्लेन फिलिप्सले ४८ बलमा ४१ रनको साझेदारी गर्दै झिनो आशा देखाएका थिए । पहिलो खेलमा ७८ बलमा १ सय ४० रनको सानदार इनिङ खेलेका ब्रेसवेल मोहम्मद शामीको बाउन्सर बलमा एज लागेर विकेटकिपर ईशान किशनबाट क्याच आउट भएपछि झिनो आशा समाप्त भएको थियो ।

सातौं विकेटका लागि ग्लेन फिलिप्स र मिचेल सान्टनारले ७० बलमा सर्वाधिक ४७ रनको साझेदारी गर्दै एक सय रनको योगफल कटाउन सफल भए । सान्टनार हार्दिक पान्ड्याको बलमा एज लागेर बोल्ड हुन पुगे । त्यो समय न्युजिल्यान्ड १०३–७ को अवस्थामा थियो ।

भारतका मोहम्मद शामीले ६ ओभरमा १ मेडनसहित १८ रन खर्चेर ३ विकेट लिए । हार्दिक पान्ड्या र वासिन्टन सुन्दरले दुई दुई विकेट लिए । मोहम्मद शिराज, शार्दुल ठाकुर र कुलदीप यादवले एक एक विकेट लिए । तीन ओडिआई खेलको सिरिजमा भारतले १–० को अग्रता लिएको छ ।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१