• २०८३ साउन ६
  • 2026 July 22, Wednesday

राष्ट्रपतिसँग फिल्मकर्मीहरुको भेट

काठमाडौं । नेपाली फिल्मकर्मीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरेका छन् । सोमबार करिब एक दर्जन कलाकर्मीले राष्ट्रपति भण्डारीसँग राष्ट्रपति भवनमा भेट गरेका हुन् ।

‘हिजो सम्माननिय राष्ट्रपति विद्यादेवि भण्डारीज्यूसँग नेपाली चलचित्र क्षेत्रलाई आवश्यक विभिन्न मुद्दाहरुमा केन्द्रीत माग पेश गरेका छौँ’, राष्ट्रपतिसँगको भेट पश्चात् निर्देशक दिपाश्र निरौला लेख्छिन्, ‘हामीले प्रस्तुत गरेका सम्पूर्ण मुद्दाहरुमा उहाँले सम्बोधन हुने बिश्वास व्यक्त गर्नु भएको छ’ ।

यस्तै राष्ट्रपतिले चलचित्रकर्मीहरुलाई दुःखमा सहयोग गर्ने चलचित्र कल्याण कोषमा राज्यको तर्फबाट रकम थप गरिनुपर्ने माग समेत राष्ट्रपति समक्ष राखिएको दिपाश्रीले उल्लेख गरेकी छिन् ।
राष्ट्रपतिसँग फिल्मकर्मीलाई भेट गराउने चाँजोपाँजो निर्माता संघका अध्यक्ष आकाश अधिकारीले गरेका थिए । विकास वोर्ड अध्यक्ष भुवन केसी र चलचित्र कल्याण कोषका अध्यक्ष बसुन्धरा भूषालले राष्ट्रपति समक्ष आफ्नो मन्तव्य राखेका थिए ।

राष्ट्रपतिसँगको भेटमा भुवन चन्द, चैत्यदेवी सिंह, बसुन्धरा भूषाल, लक्ष्मी गिरी, मिथिला शर्मा, गौरी मल्ल, करिश्मा मानन्धर, रेजिना उप्रेती, नीता ढुंगाना लगायत महिला अभिनेत्रीहरु उपस्थित थिए । यस्तै पुरुषतर्फ शिव श्रेष्ठ, भुवन केसी, मोहन निरौला, मदन घिमिरे, शोभित बस्नेत, केदार घिमिरे, बुद्धि तामाङ, गौरव पहारीले राष्ट्रपतिलाई भेट गरे ।