कांग्रेसबाट पौडेल र सिटौला राष्ट्रपतिको लाइनमा

काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रपति निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवारी दिने निर्णय गरेको छ।

सभापति शेरबहादुर देउवाले पदाधिकारीहरू र पूर्वपदाधिकारीको बैठकमा परिणाम हात लाग्ने गरी राष्ट्रपति निर्वाचनमा होमिने र एकताबद्ध भएर जानुपर्ने बताएका छन्।

देउवाले सोमबार निवास धुम्बाराहीमा पदाधिकारीलाई बोलाएर राष्ट्रपति निर्वाचन र पार्टीका आन्तरिक विषयबारे कुराकानी गरेका थिए।

सभापति देउवाले राष्ट्रपति निर्वाचनमा पार्टी एकताबद्ध भएर जानुपर्नेमा पदाधिकारी बैठकमा जोड दिएका थिए। नेता शेखर कोइराला पक्षले आन्तरिक भेला गर्दै सभापति देउवाको आलोचना र प्रधानमन्त्रीलाई विश्वासको मतबारे दिनुलाई गल्ती भएको भन्दै दिएको अभिव्यक्तिप्रति देउवाले चासो राखेका थिए।

पार्टीलाई एकताबद्ध भएको सन्देश दिनुपर्ने सभापति देउवाले कुरा राखेपछि कोइराला पक्षले मंगलबारका लागि राखेको आन्तरिक भेला पनि स्थगित गरेको छ।

प्रधानमन्त्रीलाई विश्वासको मत दिएकोले माओवादीले राष्ट्रपति निर्वाचनमा आफूहरूलाई सहयोग गर्ने विश्वासमा सभापति देउवा छन्। यसपालि संसदीय दल नेतामा सभापति देउवालाई सहयोग गरेका वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपतिका आकांक्षी छन्। गठबन्धनलाई निरन्तरता दिई प्रधानमन्त्रीमा प्रचण्ड र राष्ट्रपतिमा आफू हुने पक्षमा पौडेल थिए तर चुनावका बेलाको गठबन्धन भत्किएपछि पौडेल असन्तुष्ट छन्।

तर गत पुस २६ मा प्रचण्डलाई विश्वासको मत दिएपछि राजनीतिक कोर्स बदलिएको र हाइज्याक भएको गठबन्धनलाई फिर्ता ल्याइएको पौडेलले अभिव्यक्ति दिएका थिए। त्यसपछि पनि पौडेलले प्रधानमन्त्री प्रचण्डलाई बालुवाटार पुगेर छलफल गरेका थिए। माओवादीले सहयोग गरे राष्ट्रपति हुन सकिने भन्दै पौडेलले दौडधुप गरिरहेका छन्।

राष्ट्रपति निर्वाचनमा प्रधानमन्त्रीले सहयोग गर्न सक्नेबारे पदाधिकारी बैठकमा सभापति देउवाले ब्रिफिङ गरेका थिए। राष्ट्रपतिमा उम्मेदवारी दिँदा पार्टीमा २ जनाको नाम आएको देउवाको भनाइ थियो। देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाको नाम लिएका हुन्।

पौडेलले गत मंसिरको चुनावमा तनहुँ १ बाट जितेका थिए। सिटौला भने झापा ३ मा पराजित भएका थिए। राष्ट्रपति उम्मेदवार हुन सांसद नभए पनि हुने व्यवस्था छ। सिटौलाले १३ औं र १४ औं महाधिवेशनमा सभापतिमा देउवालाई साथ दिएका थिए। १४ औं महाधिवेशनमा मौन बसेर पौडेलले पनि देउवालाई साथ दिएको चर्चा त्यसबेला हुन्थ्यो।

सभापति देउवाले राष्ट्रपति उम्मेदवारका रूपमा पार्टीमा आफू र रामचन्द्र पौडेलको नाम लिएको सिटौला बताउँछन्।

सभापति देउवाले राष्ट्रपति उम्मेदवार कसलाई बनाउने भन्ने पार्टीमा छलफलका लागि पौडेल र सिटौलाको नाम राखेका भने होइनन्।

© 2024 All right reserved Site By : Himal Creation || सञ्चार रजिस्ट्रार दर्ता नं : ०००९७