स्पट फिक्सिङमा मोलमोलाई, ६ खेलको ३६ लाखसम्म दिने प्रस्ताव

काठमाडौं । नेपाल टी–२० लिगमा दुई जना खेलाडीमार्फत स्पट फिक्सिङको प्रयास गरेको पाइएको छ ।

राष्ट्रिय टिमका पूर्व क्रिकेटर मेहबुब आलमले दुई जना खेलाडीमार्फत स्पट फिक्सिङ गरेको आशंका सिआईबीले गरेको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का अनुसार प्रतियोगितामा सहभागी एक बलर र एक ब्याटरलाई मेहबुबले प्रति खेल ६ देखि ८ लाख रुपैयाँसम्म दिने प्रस्ताव गरेको पाइएको हो ।

प्रहरीले मेहबुब र खेलाडीबीचको अडियो कुराकानी नै फेला पारेको छ । ‘६ खेलको भयो भने ३६ लाख हुन्छ, त्यो भनेको राम्रो पैसा हो,’ अडियोमा मेहबुबले नाम नखुलेका खेलाडीसँग भनेका छन् ।

मेहबुबले प्रस्ताव गरेका दुई खेलाडीमध्ये एकजना मोहम्मद आदिल आलम थिए । अर्का खेलाडी को थिए भनेर प्रहरीले सार्वजनिक गरेको छैन ।

नेपाल टी–२० लिगको फ्रेन्चाइज टिम जनकपुर रोयल्सबाट खेलेका आदिलले पुस १२ गते काठमाडौं नाइट्स र १४ गते फार वेष्ट युनाइटेडविरुद्धको खेलमा मेहबुबको प्रस्ताव कार्यान्वयन गरेका थिए ।

स्पट फिक्सिङमा प्रत्यक्ष संग्लग्नताको तथ्य भेटिएपछि प्रहरीले मेहबुबलाई सोमबार विराटनगरबाट पक्राउ गरेको थियो ।

© 2024 All right reserved Site By : Himal Creation || सञ्चार रजिस्ट्रार दर्ता नं : ०००९७