ललितपुरमा कार र ट्याक्सी एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु

काठमाडौं । ललितपुरमा सवारी दुर्घटनामा परि दुई जनाको ज्यान गएको छ । ललितपुरको ग्वार्कोमा कार र ट्याक्सी एक आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको हो ।

गएराति बि एन्ड बी अस्पताल अगाडिको ओरालोमा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय ललितपुरले जनाएको छ ।
बा २ ज ३४२० नम्बरको ट्याक्सी र बा ४ च १ नम्बरको कार ठोक्किएका हुन्।

ट्याक्सीमा सवार एक जना र कारमा सवार एक जनाको मृत्यु भएको हो। ट्याक्सीमा ६ जना सवार थिए भने कारमा दुई जना सवार थिए।
ट्याक्सीमा सवार सुनसरी घर भई ललितपुर महानगरपालिका ताल्छिखेल बस्ने ४७ वर्षीय सरोजकुमार विक र कारमा सवार चितवन घर भई टोखा नगरपालिका–७ ग्रीनल्यान्ड बस्ने प्रकाश आचार्यको मृत्यु भएको हो।

दुर्घटना भएपछि उनीहरूलाई बिएन्डबी अस्पताल लगिएको थियो। त्यहाँ उपचारको क्रममा मृत्यु भएको हो।
अन्य ६ जनालाई सामान्य चोट लागेको एसपी पोखरेलले बताए। तिव्र गतिका कारण उक्त दुर्घटना भएको उनले बताए। प्रहरी वृत्त सातदोबाटोबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१