काठमाडौँ । नेपाली कांग्रेसका नेता तथा सांसद डा.चन्द्र भण्डारीले नेपालको राजनीति र नेपाली नेताहरुको चिन्तनमा अत्यन्त बचपना रहेको टिप्पणी गरेका छन् । आफूहरुले जेल र यातना सहेर बहुदल ल्याएको ३२ वर्ष भइसक्दा पनि नेताहरुको सत्ताको मानसिकता र आन्तरिक द्धन्द्धका कारण मुलूकलाई नराम्रो असर पारेको उनको आरोप छ ।
‘नेपाली राजनीतिमा नेताहरुको चिन्तन अत्यन्तै बचपन छ । यसरी मुलूक बन्दैन । ३२ वर्ष भयो हामीले बहुदल ल्याएको । हामी जेल बसेको, यातना खाएको यो मूलुक रुपान्तरण गरौंला भन्ने थियो । जहिलेसुकै सत्ताको कुरा र द्धन्द्धको कुरा यसले मुलूकलाई डुबायो,’ सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा उनले भने । विगतका सोचाई बोकेर अझै हिँडिरहे अर्को ३२ वर्षमा पनि यो मुलूक नबन्ने उनको दाबी छ । साथै, मनमोहन प्रधानमन्त्री हुँदापनि आफूहरुले विश्वासको मत दिएको स्मरण गर्दै उनले त्यसबेला मनमोहनलाई समर्थन नगर्दा मध्यावधि निर्वाचनमा जानुपर्ने भएको र मुलुकको धेरै खर्च हुने भएकाले समर्थन गरेको बताए ।
‘हामीले मनमोहनजी प्रधानमन्त्री हुँदा समर्थन गर्यौं । मुलूकको धेरै खर्च हुने भयो । मध्यावधि निर्वाचनमा जाने भयो भनेर समर्थन गर्यौं,’ उनले विगत स्मरण गराए । प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएर कांग्रेस प्रतिपक्षमा बस्न नमिल्ने भन्ने अहिलेको बहसलाई लक्षित गर्दै उनले दीर्घकालीन सोचका आधारमा यो निर्णयमा कांग्रेस पुगेको र संसारका दर्शन र सिद्धान्त सधैंका लागि नहुने बताए । माओवादीसँगको गठबन्धनमा निर्वाचनमा जाँदै गर्दा जनतासँग गरेको वाचा पुरा गर्न कांग्रेसले प्रचण्डलाई विश्वासको मत दिएको उनको भनाई छ ।
प्रचण्डलाई प्रधानमन्त्री बनाउन नसक्नु कांग्रेसको गल्ती भएको उनको स्विकारोक्ति थियो । अहिलेको सरकारलाई खिचडी सरकारको संज्ञा दिँदै उनले यस विषयमा धेरै विवाद गर्न आवश्यक नरहेको बताए ।