• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

माओवादी केन्द्रकाे बैठक : फैसलाको पूर्णपाठ नआउँदासम्म गृह मन्त्रालयबारे निर्णय नलिने

काठमाडाैं । नेकपा माओवादी केन्द्रले रवि लामिछानेको मुद्दामा सर्वोच्च अदालतको पूर्ण पाठ नआएसम्म गृह मन्त्रालयबारे कुनै निर्णय नहुने स्पष्ट पारेको छ ।

पार्टी कार्यालय पेरिसडाडामा मंगलबार बसेको माओवादी पदाधिकारी बैठकले अदालतको फैसलाको पूर्णपाठ नआउँदासम्म गृह मन्त्रालयबारे निर्णय नहुने र प्रधानमन्त्री मातहतमै रहने स्पष्ट पारेको हो ।

बैठकपछि प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले अदालतको पूर्णपाठ कुर्नुपर्ने सुझाव आएको बताए ।

उनले वर्तमान सत्ता गठबन्धनलाई टुट्न नदिन निरन्तर छलफल भइरहेको बताए । सबै विषयमा सल्लाह भइरहेको र ठोस निष्कर्षमा पुगिने उनकाे भनाइ छ ।

त्यस्तै, माओवादी प्रवक्ता कृष्णबहादुर महराले अदालतबाट पूर्णपाठ आउन बाँकी रहेकाले फैसला नआएसम्म निर्णय नहुने जानकारी दिए । अहिले प्रधानमन्त्रीले नै गृहमन्त्रालयको जिम्मेवारी सम्हाल्ने उनले बताए ।

उनले राष्ट्रपति निर्वाचनका विषयमा एमालेसहितको राष्ट्रिय सहमति खोजिने उल्लेख गरे । पदाधिकारी बैठकमा स्थायी कमिटी बैठकको सम्पूर्ण तयारी गरिएको प्रवक्ता महराले बताए ।

स्थायी कमिटी बैठक बुधबार बस्ने र महत्वपूर्ण निर्णय गर्दै बुधबार नै सम्पन्न गर्ने माओवादीकाे तयारी छ ।

माओवादीले कम्तीमा तीन महिनाको कार्ययोजना बनाएर त्यही अनुसार जिम्मेवारी बाँडफाट गर्ने तयारी गरेको प्रवक्ता महराले जानकारी दिए ।