काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र राप्रपा अध्यक्ष लिङ्देनसँग भेटवार्ता गरेका छन् ।
सत्ता साझेदार नेकपा (एमाले) का अध्यक्ष ओली र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष तथा ऊर्जा मन्त्री राजेन्द्र लिङ्देनसँग प्रधामन्त्री प्रचन्डले बालुवाटारमा छलफल गरेका हुन् ।
सत्ता साझेदार अर्को दल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता मुद्दामा सांसद पद बदर भएपछि उनले सम्हालेको गृह मन्त्रालय अहिले प्रधानमन्त्री प्रचण्डले आफैं राखेका छन्।
नागरिकता पुनः प्राप्ति गरेका रास्वपा सभापति लामिछानेले मंगलबार बिहान प्रधानमन्त्री प्रचण्डलाई भेटेर गृह मन्त्रालय आफूले नपाएका सरकारबाट बाहिरिने बताएका थिए।
प्रधानमन्त्री प्रचण्ड भने अब गृह मन्त्रालय अरू दललाई नदिने पक्षमा छन्।
फागुन २५ गते हुन लागेको राष्ट्रपतिको निर्वाचनमा कसलाई उम्मेदवार बनाउने भन्ने विषय पनि सत्ता गठबन्धनभित्र पेचिलो बन्दै गएको छ।
यसअघि एमाले र माओवादी केन्द्रबीच एमालेलाई सभामुख, राष्ट्रपति र माओवादीलाई प्रधानमन्त्री दिने सहमति भएको बताइएको थियो।
अहिले माओवादी नेताहरू राष्ट्रिय सहमतिमा राष्ट्रपति छान्नुपर्ने बताइरहेका छन्।