काठमाडाैं । नेपाली कांग्रेसले राष्ट्रियसभाको उपाध्यक्ष पदमा उम्मेदवारी दिने भएको छ ।
बिहीबार काठमाडौंमा बसेको कांग्रेस संसदीय दल कार्यसमिति बैठकले माघ २३ गते हुने राष्ट्रियसभाको उपाध्यक्ष निर्वाचनमा उम्मेदवारी दिने निर्णय गरेको हो ।
राष्ट्रियसभाको उपाध्यक्ष पदका लागि माघ २२ कांग्रेसले मनोनयन दर्ता गराउने र यसका लागि अन्य दलहरुसंग पनि छलफल गर्ने निर्णय गरेको कांग्रेस मुख्य सचेतक रमेश लेखकले जानकारी दिए ।
त्यस्तै, बैठकले संसदीय दलको बैठक माघ २६ गते १ बजे संसद भवनमा बोलाउने निर्णय भएको उनले बताए । लेखकले प्रधानमन्त्रीले राष्ट्रपतिको निर्वाचनका लागि राष्ट्रिय सहमति खोज्ने बताएकाले यसबारेमा छलफल गर्न कांग्रेस तयार रहेको धारणा राखे ।
राष्ट्रपति निर्वाचनका लागि पार्टीका तर्फबाट तयारी भइरहेको उनकाे भनाइ छ । मुख्य सचेतक लेखकले पार्टी संसदभित्रको काममा व्यस्त भएकाले केन्द्रीय कार्यसमितिको बैठक केही समयमा लागि सारिएको जानकारी दिए ।