• २०८३ असार १०
  • 2026 June 24, Wednesday

#BoycottCAN अभियान चलिरहँदा प्रचण्डलाई विश्वप्रकाशले साेधे- यो प्रकरणमा पनि अदालत कुरौँ ?

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले बलात्कार आरोपित सन्दीप लामिछानेलाई राष्ट्रिय टिममा संलग्न गराएकोमा आपत्ति जनाएका छन् ।

हाल खेलकुद मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई शर्माले प्रधानमन्त्रीको पनि ध्यानाकर्षण गराएर ‘कि सहि भएको छ, बधाई दिनोस्, कि यो प्रकरणमा पनि अदालत कुरौँ, हतारको गल्ती सच्याउ भन्नोस्’ भनेर लेखेका छन् ।

प्रधानमन्त्रीले रवि लामिछाने प्रकरणमा अदालतको पूर्णपाठ कुर्ने बताइरहेकाे बेला त्यसैप्रति इंगित गरी शर्माले यस्ताे प्रश्न गरेका हुन् ।

हाल जमानतमा बाहिर रहेका लामिछानेलाई हिजो नेपाल क्रिकेट संघ (क्यान)ले बन्द प्रशिक्षणमा बोलाएको थियो ।

सामाजिक संजालमा क्यानको सो निर्णयको आलोचना भइरहेको छ । ट्वीटरमा सन्दीपलाई खेल्न दिएसम्म क्यानलाई बहिष्कार गर्नुपर्ने अभियान समेत चलाइएको छ । भोलि माइतीघरमा यसै विषयलाई लिएर प्रदर्शन पनि हुने भएको छ । हाल ट्वीटरमा #BoycottCAN अभियान चलिरहँदा कांग्रेस महामन्त्रीले पनि प्रश्न उठाएका हुन् ।

शर्माले क्यानका अध्यक्ष चतुरबहादुर चन्दलाई फोन गरेर ‘खेलको नियम पालना गर्ने संस्थाले न्यायको नियम पालना गर्नुपर्दैन?’ भनेर प्रश्न गरेको समेत बताएका हुन् ।

सन्दीप अहिले बन्द प्रशिक्षणका क्रममा कीर्तिपुरमा छन् । मुद्दाको फैसला नहुँदै र जमानतमा बाहिर रहेको अभियुक्तलाई राष्ट्रिय टिममा नै स्थान दिएकोमा क्यानको चर्को आलोचना भइरहेको छ ।