काठमाडौं । प्रतिपक्षी दलहरूले राष्ट्रिय सभाको उपाध्यक्षका उम्मेदवारको टुंगो भोलि बिहानसम्म लगाउने भएको छ।
शनिबार बिहान संसदमा प्रतिनिधित्व गर्ने विपक्षी दलहरुको बैठक बोलाएको कांग्रेसले आज प्रारम्भीक छलफल गरेर भोलि बिहान उम्मेदवार टुंगो लगाउने कांग्रेस संसदीय दलको प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए।
उनले भोलि बिहानसम्म टुंगो लाग्ने बताए।
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले आगामी माघ २३ गते हुने राष्ट्रिय सभा उपाध्यक्षमा आफ्नो पार्टीले दाबी नगर्ने बताएका छन्।
उनले सबै विपक्षीदलसँग सल्लाह गरेर साझा उम्मेदवार उठाउने बताए।
बैठक सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा भएको बैठकमा कांग्रेससहित एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चाका नेताहरू सहभागी थिए।
राष्ट्रपति र राष्ट्रियसभाको उपाध्यक्ष निर्वाचन नजिकिँदै गर्दा कांग्रेसले विपक्षी दलहरुको बैठक बोलाएको हो।
राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन माघ २३ मा हुँदैछ भने राष्ट्रपति निर्वाचन फागुन २५ गतेका लागि तय भएको छ।
नेकपा एमालेका उम्मेदवालाई सर्वसम्मत हुन नदिने सोचमा रहेको कांग्रेसले बिहिवार राष्ट्रियसभा उपाध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेको थियो। लामो समय देखि रिक्त राष्ट्रिय सभाका उपाध्यक्ष २३ माघमा गर्ने संघीय संसद सचिवालयले यसअघि नै जानकारी गराइसकेको छ ।
प्रतिनिधिसभाको सभामुख र उपसभामुखमा पनि उम्मेदवारी दिएर सर्वसहमत हुन नदिएको कांग्रेसले राष्ट्रिय सभा उपाध्यक्ष पनि सर्वसम्मत हुन नदिनका लागि उम्मेदवारी दर्ता गराउन लागेको हो। तर, उपाध्यक्षको उम्मेदवार को हुने भन्ने अझै निक्र्यौलमा कांग्रेस भने पुगिसकेको छैन।