मनिषा कोइरालादेखि राजेश हमालसम्मले हेरे ‘ह्यारी कि प्यारी’

काठमाडौँ । जितु नेपाल र साम्राज्ञीराज्य लक्ष्मी शाहको अभिनय रहेको फिल्म ‘ह्यारी कि प्यारी’ मनिषा कोइरालाले हेरेकी छिन् । शुक्रबार साँझ दरबारमार्गस्थित दरबार सिनेमा हलमा उनले अन्य थुप्रै सेलिब्रेटीसँग फिल्म हेरेकी हुन् । सोही समयमा अभिनेता राजेश हमाल, करिष्मा मानन्धर, भुवन चन्द, बसुन्धरा भुसाल, सम्झना उप्रेती रौनियार आदिले पनि फिल्म हेरेका थिए ।

मनिषाले फिल्म राम्रो लागेको बताउँदै निर्देशकको प्रशंसा गरेकी थिइन् । ‘डाक्टर भएर पनि उहाँको फिल्मप्रतिको रुचि देखेर रमाइलो लाग्यो । उहाँलाई सोधेँ पनि । जेहास् फिल्म राम्रो छ,’ उनले भनिन् ।श्रीमती मधु भट्टराईसँगै फिल्म हेर्न आएका अभिनेता राजेश हमालले फिल्मलाई अनौठो र रोचक लभस्टोरीको रुपमा लिएको बताएका थिए ।

‘फिल्मको सुरुमा प्लट विकसित हुन समय लाग्छ । तर समातेपछि भने फिल्म इन्टेन्स छ,’ उनले भने । हमालले भोला रिजालले बनाएका लगभग सबै फिल्ममा काम गरेकाले कसरी छुटेँ भन्ने लागेको बताउँदै फिल्मभित्र राखिएको पोस्टरमै सही अटाएको उल्लेख गरेका थिए । फिल्मभित्र राजेश हमाल अभीनित दुई फिल्म ‘एक नम्बरको पाखे’ र ‘साथी’को पोस्टर देखिन्छ । करिष्मा मानन्धरले पनि विषयवस्तु राम्रो लागेको बताउँदै समग्रमा फिल्म मनोरञ्जक रहेको प्रतिक्रिया दिएकी थिइन् ।

© 2024 All right reserved Site By : Himal Creation || सञ्चार रजिस्ट्रार दर्ता नं : ०००९७