• २०८३ असार १०
  • 2026 June 24, Wednesday

चुनावपछि सत्ता समीकरणको फेरबदलको रहस्य बल्ल थाहा पाउँदैछु : माधव नेपाल

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले चुनावपछि सत्ता समीकरणको फेरबदलको रहस्य आफूले बल्ल बुझिरहेको बताएका छन् । उनले फेरिएको समीकरणकै कारण मुलुकमा संविधान र व्यवस्थाप्रति जोखिम निम्तिएको बताए ।

शनिबारदेखि बसेको केन्द्रीय कमिटीको पाँचौँ पूर्ण बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले चुनावमा लोकप्रियतावादी शक्तिले आशा जगाएर मत लिएपनि अहिले त्यसको व्यापक दुरुपयोग गरिरहेको बताए ।

उनले मुलुकमा कहिलेसम्म यस्तै राजनीतिक तलरता रहिरहने हो भनेर कुनै निश्चितता नरहेको बताए । उनले ओली–दाहाल मिलेर सरकार बनाएपनि दाहालले ओलीलाई कहिलेसम्म झेल्ने हो ? भनेर कुनै ठेगान नभएको बताए । अध्यक्ष नेपालले सरकारमा बसेकाहरूबाटै संविधान र व्यवस्थामाथि खतरा रहेको बताए ।

उनले निर्वाचनमा एक लाख ३६ हजार पार्टी सदस्य भएपनि एक सदस्यले तीन जनाको मत समेत तान्न नसकेको भन्दै असन्तुष्टि पोखे । ‘निर्वाचनको परिणाम हामीले सोचेकोजस्तो भएन । हामीले १० सिट जितेपछि ३ प्रतिशत थ्रेसहोल्ड समेत कटाउन सकेनौँ । खास त्रुटि कहाँ भयो ? अहिले एकले अर्कालाई दोष लगाउने काम भइरहेको छ । तर, यसको पहिचान गरेर हामीले त्यसलाई सच्याएर अघि बढ्न आवश्यक छ,’ उनले भने ।