मिडियाले चारैतिरबाट प्रहार गरेको आराेपसहित रविले मिडिया सम्पादकलाई साेधे- मेरो अपराध के हो ?

काठमाडौं । सरकार छाड्ने निर्णय गरेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूलाई खासगरी मिडियाले नै चारैतिरबाट प्रहार गरेको बताएका छन् ।

आइतबार पार्टीकाे बैठकपछि पत्रकार सम्मेलन गरेका लामिछानेले भने, ‘मेरो अपराध केही छैन, १२ भाइ सम्पादकले चौतर्फी प्रहार गरे ।’

रविले केही मिडिया र सम्पादकको नाम लिएर क्षमता भए आफूविरुद्ध चितवनमा चुनाव लड्न आउन चुनौतीसमेत दिए ।

उनले सम्पादकहरुले मिटिङ गरेर ‘सिध्याउने हिसाब’ले आधारबिहीन समाचार लेखेकाे जिकीर गरे ।

पत्रपत्रिका र अनलाइन सञ्चारमाध्यमप्रति निकैबेर खनिएका उनले विभिन्न समयमा छापिएका समाचारका उदाहरण प्रस्तुत गर्दै सञ्चारमाध्यम र तिनका मालिकहरूले गलत गर्दा पनि पत्रकारहरूले लेख्न नसकेको बताए ।

गृहमन्त्रालय आफ्नो भागमा परेको र पार्टीले पठाएको मान्छे गृहमन्त्री हुने आफूहरूले बताइरहँदा पनि सञ्चारमाध्यमहरूले गलत समाचार लेखेको उनले बताए ।

पटक–पटक मिडिया सञ्चालकहरूको नाम लिएर लामिछाने उनीहरूप्रति पोखिइरहे । देशमा कानूनी शासन भएको भन्दै उनले कानून सबैलाई बराबर भएको पनि बताए ।

© 2024 All right reserved Site By : Himal Creation || सञ्चार रजिस्ट्रार दर्ता नं : ०००९७