
काठमाडाैं । पूर्व मन्त्री एवम माओवादी कम्युनिष्ट पार्टीका संरक्षक गोपाल किरातीले लुम्बिनीमा भएको रामायण कथा वाचनलाई हिंसा वाचनको संज्ञा दिएका छन् ।
हुलाक सञ्चारसँग कुरा गर्दै नेता किरातीले मुलुकमा धार्मिक सदभाव खल्बल्याउने उद्देश्यसहित भारतीय हिन्दूवादीहरुले रामायण वाचन गरेको आरोप लगाए । भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा हिन्दूहरुको रामायण पढ्नु अपवित्र र अनुचित भएको उनको भनाइ छ ।
किराती भन्छन्, ‘बुद्धको जन्मोस्थल लुम्बिनीमा रामायण वाचन गर्ने हो भने पशुपतिनाथ र जनकपुरमा कुरान वाचन गर्न पाइने कि नपाइने ? सरकारले लुम्बिनीमा रामायण वाचनको अनुमति दिएर लाखौं बौद्ध धर्मावलम्बीको आस्थामा चोट पुर्याएको छ ।’
किरातीका अनुसार सरकारले लुम्बिनीमा रामायण वाचन गराउन भारतबाट तीन करोड भारतीय रुपैयाँ लिएर बाँडेको छ । भारतीय विदेश सचिव विनयमोहन क्वात्राको नेपाल भ्रमणको एउटा उद्देश्य रामायण वाचन गरे बापत सरकारलाई धन्यवाद पनि दिनु रहेको उनको भनाइ छ ।
नेता किरातीले प्रधानमन्त्री पुष्पकमल दाहाल पद र प्रतिष्ठाका लागि जे पनि गर्न तयार रहेकाले देश र जनता उनको प्राथमिकतामा नरहेको बताए । प्रचण्ड आफनो कुर्सी जोगाउन राप्रपाका सबै माग पूरा गर्न पनि तयार रहेको उनको दाबी छ ।
किराती भन्छन्, ‘आफनो पद कायमै रहन्छ भने प्रचण्ड राजसंस्था र हिन्दुत्व फर्काउन पनि तयार हुन्छन् । ’
पार्टीको नाम, झण्डा र सिद्धान्तसमेत परिवर्तन गर्न तयार प्रचण्ड इतिहासबाट भागेर पूँजीवादको दलदलमा रमाइरहेको किराती बताउँछन् ।
मुलुकमा जो राष्ट्रपति भएपनि त्यो प्रचण्डका लागि अनुकुल र फाइदाजनक नहुने किरातीको विश्लेषण छ । राजनीतिक दल र नेताहरुको व्यवहारका कारण गणतन्त्र असुरक्षित भएकाले चाँडै गणतन्त्र पुनर्स्थापनाको आन्दोलन सुरु गर्नुपर्ने अवस्था आउनसक्ने उनी बताउँछन् ।
बिस्तृत भिडिओमा :