• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

राजाले दलहरुसंग गर्ने सहकार्य भनेको राजसंस्था र हिन्दुत्व फर्काउनका लागि हो (भिडिओसहित)

काठमाडौं । नेपाली कांग्रेसका नेता लोकेश ढकालले मुलुकको सर्वोपरी हितका लागि राजासहितको प्रजातन्त्र र हिन्दुत्वको पुन ः स्थापना अनिवार्य रहेको बताएका छन् ।

हुलाक संचारसंग कुरा गर्दै नेता ढकालले विदेशीको योजना र ईशारामा मुलुकमा धर्मनिरपेक्षता, संघीयता र गणतन्त्र लादिएकाले अब त्यसको उन्मूलन अनिवार्य भएको बताए । कुनैपनि आन्दोलनमा जनताले उठाउँदै नउठाएका मुद्दा नेपालको संविधान २०७२ मा उल्लेख गरिएकाले समस्या उत्पन्न भएको उनले बताए ।

नेता ढकाल भन्छन, ‘अरुको के कुरा नेपाली कांग्रेस त कम्युनिष्टहरुको पछि लाग्यो । मुलुकमा प्रजातन्त्र स्थापनाका लागि जिउ ज्यान दिएको पार्टी नै सत्ताका लागि सिद्धान्तविहीन भएपछि देशले दुःख पाउनु स्वभाविक हो । आज मुलुकको जुन हविगत यसमा सबैभन्दा बढी नेपाली कांग्रेस दोषी छ ।’
नेता ढकालका अनुसार पूर्वराजा ज्ञानेन्द्र शाहले प्रजातन्त्र दिवसको दिन दिएको सन्देश स्वागतयोग्य भएकाले मुलुकको सार्वभौमिकता, अखण्डता र पहिचानको रक्षा गर्न राजासहितको प्रजातन्त्रमा दलहरु सहमत हुनैपर्नेछ ।

ढकाल भन्छन, ‘राजाबिनाको प्रजातन्त्र र प्रजातन्त्रबिनाको राजसंस्था दुवै चल्न सक्दैनन् ।’

अहिले मुलुकमा राष्ट्रपतिको हुने भन्ने विषयले प्रमुखता पाएको बताउँदै ढकाल भन्छन्, ‘कुनैपनि हालतमा नेपाली कांग्रेसको राष्ट्रपति हुनुपर्छ । अन्यथा राजनीतिक दुर्घटना हुन्छ, मुलुक मध्यावधि निर्वाचनमा जान्छ ।’

कम्युनिष्ट पार्टीहरुले मुलुक चलाउन नसक्ने तथ्य विगतमा पटक–पटक प्रमाणित भैसकेकाले नेपाली कांग्रेस जस्तो पार्टीलाई पन्छाएर अघि बढ्न खोजे मुलुक नै संकटमा पर्ने उनी बताउँछन् ।

दलहरुले आजसम्म पनि राष्ट्रपतिको उम्मेदवार चयन गर्न नसक्नुका पछाडी विदेशी चासो र हस्तक्षेप भएको उनी बताउँछन् । नेपाली कांग्रेसका पुराना नेता कुलबहादुर गुरुङलाई राष्ट्रपतिको उम्मेदवार बनाएर जिताउनुपर्ने उनको राय छ ।

विस्तृत भिडिओ :