• २०८३ असार १२
  • 2026 June 26, Friday

रिहा भएपछि पलले सबैलाई धन्यवाद दिए

काठमाडौं ।उच्च अदालत पोखराले सफाइ दिएसँगै अभिनेता पल शाह सोमबार जिल्ला कारागार तनहुँबाट रिहा भएका छन् । बाहिर जम्मा भएको भीडलाई अभिवादन गर्दै कारागारबाट निस्किएका उनले आफूलाई माया गर्ने सबैलाई धन्यवाद दिए । कारागारबाट रिहा हुँदै गर्दा सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिंदै उनले भने, ‘अहिलेलाई यति मात्र सबैलाई धन्यवाद भन्न चाहन्छु ।’परिवारका सदस्यबाट घेरिएका उनी छोटो कपाल, आँखामा कालो चस्मा, गलामा फूलमाला, अनुहारमा अबिरले रंगीएका उनी खुशी देखिन्थे ।

कारागार बाहिर उभिएका फ्यानलाई हेरेर अभिवादन गरेका उनी खुसी देखिन्थे । उनलाई बहिनी रोशनीले गाडीसम्म आइपुग्न साथ दिएकी थिइन् । पलनिकट संगीतकार योगेशकाजीका अनुसार पल आज पोखरा लागेका छन् । एकदिन पोखरामा बसेर मंगलवार मात्रै उनी काठमाडौं फर्किने पारिवारका सदस्यले बताएका छन् । त्यहाँबाट बाहिरिँदै गर्दा पलले कलाकारितासँगै सामाजिक काममै आफू सक्रिय हुने बताएका थिए ।

काठमाडौंमा आउने बित्तिकै उनलाई एयरपोर्टमा स्वागत गर्ने तयारीमा उनी निकट फिल्म र संगीतकर्मी देखिएका छन् । बालयौन दुरुपयोग मुद्दामा तनहुँ जिल्ला कारागारमा २ वर्ष ६ महिनाको जेल सजाय काटिरहेका शाह उच्च अदालतले सफाइ दिएपछि रिहा भएका हुन् । उनी सोमबार बिहान साढे ११ बजे तनहुँ कारागारबाट रिहा भए ।

उनका निकट साथीहरुका अनुसार छिट्टै फिल्ममा फर्किने पलको चाहना छ । तर साथीहरुले केही समय आराम गरेर मात्र अभिनयमा फर्कन सुझाव दिएका छन् ।