काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ को त्रिदेशीय शृंखलामा पपुवा न्युगिनी (पीएनजी) विरुद्ध १८० रनको विजयी लक्ष्यसहित ब्याटिङमा उत्रिएको नेपालले पहिलो बलमै विकेट गुमाएको छ ।
नेपालले पहिलो बलमा आफ्ना ओपनर कुशल भुर्तेललाई गुमाएको हो । उनी पीएनजीको लागि पहिलो ओभर बलिङ गर्न आएका सेमो कामियाको पहिलो बलमै पवेलियन फर्किए ।
युनाइटेड अरब इमिरेट्स (यूएई) स्थित दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङमा आएको पीएनजीले ४९.२ ओभरमा सबै विकेट गुमाएर १७९ रनको योगफल खडा गर्यो ।
पीएनजीका ओपनर टोनी उराले ३९ रन बनाए । हिरीले ३१, किप्लिन डोरिगाले २६, गौडी टोकाले १५ र नोर्मन भानुआले १४ रन बनाउँदा सेसे बाउ र कप्तान असद भालाले समान ११ रन जोडे ।
पीएनजीलाई सस्तैमा समेट्न नेपालका सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीले समान दुई विकेट लिए । सन्दीप लामिछाने, करण केसी र कुशल मल्लले समान एक विकेट लिए ।
शृङ्खलामा दुवैै टिमको यो तेस्रो खेल हो । यसअघि पहिलो खेलमा नेपालले पीएनजीलाई चार विकेटले पराजित गरेको थियो । तर दोस्रो खेलमा नेपाल घरेलु टिम यूएईसँग ६८ रनले पराजित भएको थियो ।
यता, पहिलो खेलमा नेपालसँग पराजित भएको पीएनजीले दोस्रो खेलमा भने यूएईलाई १३१ रनले पराजित गरेको थियो ।
लिग–२ मा नेपाल ३० खेलबाट २८ अंक जोडेर छैटौँ स्थानमा छ । समान खेलबाट सात अंक जोडेको पीएनजी अंकतालिकाको पुछारमा छ । यूएई ३१ अंकका साथ पाँचौँ स्थानमा छ ।