• २०८३ असार २०
  • 2026 July 04, Saturday

महँगा गरगहना लगाएर होली नखेल्न काठमाडौं प्रहरीको आग्रह

अपरिचित व्यक्तिले दिएको खानेकुरा नखान पनि आग्रह

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले रेलिङ नभएका छत र सडकमा होली नखेल्न आग्रह गरेको छ ।

विगतका वर्षहरूमा रेलिङ नभएका छत र सडकमा होली खेल्दा अप्रिय घटनाको जोखिम बढेको देखिएको भन्दै परिसरले रेलिङ नभएको छत तथा सडकमा होली नखेल्न आग्रह गरेको हो ।

सभ्य, शिष्ट, स्वस्थकर र मर्यादित तरिकाले होली खेल्न प्रहरीको आग्रह छ । होली पर्वका नाममा उच्छृङ्खल क्रियाकलाप नगर्न पनि प्रहरीको अनुरोध छ । अपरिचित मानिसहरूको समूहमा पनि होली नखेल्न प्रहरीले अनुरोध गरेको छ ।

‘कसैको इच्छाविपरीत रङ, लोला, मोसो, केमिकल, फोहोर पानी र छाला आँखामा असर हुनेगरी रङ नलगाउनुहोला,’ प्रहरीले भनेको छ, ‘ट्राफिक नियमको पूर्ण पालना गरौँ । मादक पदार्थ सेवन गरेर सवारी साधन नचलाऔँ । भिडभाड हुने स्थानमा पाकेटमारी लुटपाट हुने सम्भावना बढी हुँदा सावधान रहनुहोला ।’

प्रहरीले जारी गरेको अनुरोध पत्रमा कुनै पनि आपराधिक गतिविधि हुन लागेको वा थाहा पाएमा प्रहरीको हटलाइन नम्बर १०० मा फोन गरिएको छ । कानुनविपरीतका गतिविधिहरू गरेको पाइए जरिबाना र कारबाही गरिनेसमेत गरिने प्रहरीले चेतावनी दिएको छ ।

परिसरले महँगा गरगहना लगाएर होली खेल्ने ठाउँमा नजान र अपरिचित व्यक्तिले दिएको खानेकुरा नखान पनि आग्रह गरेको छ ।