• २०८३ जेठ २४
  • 2026 June 07, Sunday

गोरखामा मिनीट्रक दुर्घटना हुँदा एकको मृत्यु, सात घाइते

काठमाडौं । गोरखामा मिनीट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

सोमबार दिउँसो १ बजे गोरखा नगरपालिका-६ बिसौनीमोडमा अनियन्त्रित भएर मिनीट्रक दुर्घटनामा पर्दा एक जनाको मृत्यु र सात जना घाइते भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जानकारी दिएको छ।

गोरखा बसपार्कबाट आबुखैरेनी जाँदै गरेको प्र.३-०१-००३ क ६१७० नम्बरको मिनीट्रक अनियन्त्रित भएर विपरीत दिशाबाट जाँदै गरेको बा ८६ प १७८५ नम्बरको मोटरसाइकल तथा पैदलयात्रीलाई ठक्कर दिएको थियो।

उक्त ठक्करपछि मिनीट्रक अन्दाजी २० मिटर तल खसेको कार्यालयले जनाएको छ। उक्त ट्रक खसेर जिल्ला ट‍्राफिक कार्यालयको भवनमा ठोक्किन पुगेको हो। उक्त भवनसँगै जिल्ला प्रहरी कार्यालय गोरखाको भवन हो।

दुर्घटनापछि घाइतेलाई उपचारको लागि जिल्ला अस्पतालमा गोरखा पठाइएको थियो। जसमध्ये एक जनाको उपचारको क्रममा मृत्यु भएको हो। मृतकको सनाखत हुन बाँकी छ।