काठमाडाैं । काठमाडौंको भृकुटीमण्डपस्थित फनपार्कको जग्गा सस्तोमा भाडामा दिएर भ्रष्टाचार गरेको अभियोगमा सजाय सुनाइएका पूर्वमन्त्री बद्री न्यौपानेले नियोजित रुपमा आफूमाथि षड्यन्त्र भएको बताएका छन् ।
मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै न्यौपानेले राजनीतिक पूर्वाग्रहका आधारमा आफूमाथि मुद्धा लगाएको र सोही अनुसार फैसला आएको बताए ।
उनले नियमानुसार नै आफूले जग्गा भाडामा लगाउने प्रस्ताव मन्त्रीपरिषद्मा लगेको र समाज कल्याण परिषदले गर्दै आएको नियमानुसार नै आवश्यक निर्णय गरेको दावी गरे । सोही प्रक्रियामा सहभागी अरुलाई सफाइ दिएर आफूलाई मात्रै नियोजित रुपमा फसाइएको उनकाे भनाइ छ ।
उनले आफू विशेष अदालतको फैसला विरुद्ध पुनरावेदनमा जान आर्थिक रुपमा सक्षम नभएको उल्लेख गरे । विशेष अदालतले मनोमानीसँग २० करोड ७१ लाख ३४ हजार रुपैयाँ नोक्सानी पारेको भनिए पनि के कसरी नोक्सानी भयो भनेर स्पष्ट पार्न नसकेको उनले बताए ।
उनले आफू मन्त्री हुँदाको दिनदेखि अहिलेसम्म राज्यको कुनै निकायबाट अनियमितता नगरेको दाबी गरे ।
विशेष अदालतले भृकुटीमण्डपको जग्गा भाडामा समाज कल्याण परिषद्लाई २० करोड रुपैयाँभन्दा बढी भ्रष्टाचार गरेको ठहर गर्दै पूर्वमन्त्री बद्रीप्रसाद न्यौपानेसहित ७ जनालाई कैद र जरिवानाको फैसला गरेको थियाे ।
पूर्वमन्त्री तथा गत निर्वाचनमा मनाङबाट निर्वाचित सांसद टेकबहादुर गुरुङसँग भने जरिवाना मात्र सजाय गरिएकाे छ ।
विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल र सदस्यहरु शालिग्राम कोइराला र बलभद्र बास्तोलाको इजलासले १६ फागुनमा भृकुटीमण्डपको जग्गामा भ्रष्टाचार भएको ठहर गरेको हाे ।
जसमा पूर्व समाजकल्याणमन्त्री बद्रीप्रसाद न्यौपानेलाई ९ वर्ष कैद र २ करोड ४३ लाख ६८ हजार ८०३ रुपैयाँ ५० पैसा जरिवाना, २ करोड ४३ लाख ६८ हजार ८०३ रुपैयाँ ५० पैसा नै बिगो र थप ६ महिना कैद सजाय निर्धारण गरेकाे छ ।
पूर्वमन्त्री टेकबहादुर गुरुङलाई भने मतियार ठहर गर्दै १ करोड २१ लाख, ८४ हजार ४०१ रुपैयाँ ८० पैसा जरिवानाको सजाय निर्धारण गरेकाे छ ।
अदालतले समाजकल्याण परिषदका तत्कालिन उपाध्यक्ष प्रमोद मेहता, तत्कालिन कोषाध्यक्ष कुञ्जविहारीप्रसाद चौधरी, तत्कालिन सदस्यहरु हरि न्यौपाने, मोहनराज शर्मा, मदनकुमार लाल कर्ण र तत्कालिन सदस्य सचिव रवीन्द्र कुमारलाई पनि कैद र जरिवानाको सजाय निर्धारण गरेको छ ।