चैत ४ गते टुँडिखेलमा ‘१९७४ एडी’ को कन्सर्ट हुँदै, निःशुल्क हेर्न पाइने

काठमाडौं । चैत ४ गते शनिबार साँझ ५ बजे काठमाडौंको टुँडिखेलमा सांगीतिक समूह ‘१९७४ एडी’ ले कन्सर्ट गर्ने भएको छ ।

अटिजमबारे जनचेतना फैलाउने उद्देश्यले नाराका साथ उक्त कन्सर्ट गर्न लागिएको हो । यो कन्सर्ट काठमाडौं महानगरपालिका, अटिजम केयर नेपाल सोसाइटी र ब्यान्डको सहकार्यमा हुँदैछ ।

नेपालमा करिब तीन लाख बालबालिकामा अटिजम भएको अनुमान रहेको अवस्थामा कन्सर्टको माध्यमबाट अटिजमबारे धेरैभन्दा धेरै सचेतना पुर्‍याउन सकियोस् भनेर निःशुल्क हेर्न सक्ने व्यवस्था मिलाइएको आयोजकहरूले जनाएका छन् ।

अटिजम एक प्रकारको अवस्था हो जसमा कसैको मस्तिष्कको विकास साधारण मानिसको भन्दा भिन्न तरिकाले हुन्छ। समयमै पहिचान गरी प्रयास गरेमा अटिजम भएका बालबालिकाको सिकाइमा सुधार ल्याउन, सञ्चार सीप विकास गर्न र मस्तिष्क विकासमा समेत सकारात्मक प्रभाव पार्न सकिन्छ ।

नेपाली समाजमा यसबारे कम छलफल हुने भएकाले जानकारी सीमित भएको अटिजम केयर नेपाल सोसाइटी (एसिएनएस) अध्यक्ष डाक्टर सुनिता मलेकू बताउँछिन् ।

‘अभिभावक, स्वास्थ्यकर्मी, समुदायका सरोकारवालाहरूमा पनि बालबालिकामा हुने विकासात्मक ढिलाइ र भिन्नताको कम जानकारी छ । यस कारण बालबालिकामा अटिजमको अवस्था निदान गर्न ढिलो हुने गरेको पाइन्छ ।’

‘उनले भनिन्, यो विषयमा जानकारी र जनचेतना वृद्धि गर्नुका साथ अटिजमको अवस्थालाई बालबालिकाहरूको कलिलै उमेरमा पत्ता लगाउन अत्यन्त जरूरी छ । समयमै पत्ता लागेमा र उपचार गरेमा अटिजम भएकाले पनि थोरै मद्दतमा सहज जीवन जिउन सक्ने अवस्था सिर्जना गर्न सकिन्छ ।’

काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले सबैलाई उक्त सांगीतिक कार्यक्रममा सहभागी भई अटिजमबारे जनचेतना फैलाउन सहयोग गर्न आह्वान गरेका छन् ।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१