ललितपुरको ग्वार्कोमा मोटरसाइकलको ठक्करबाट साइकल चालकको मृत्यु

काठमाडौं । ललितपुरको ग्वार्कोमा सरकारी मोटरसाइकलको ठक्करबाट साइकल चालकको मृत्यु भएको छ ।

गएराति सवा ८ बजे ललितपुर महानगरपालिका-१७ ग्वार्को चोकमा मोटरसाइकलले ठक्कर दिँदा साइकल चालकको मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी शिद्दीविक्रम शाहले जानकारी दिए ।

धादिङ धुनिबेशी नगरपालिकाको बागमती प्रदेश ०२-००१ व २२४७ नम्बरको मोटरसाइकलले साइकल चालकलाई ठक्कर दिएको हो ।

काभ्रे बेथानचोक गाउँपालिका-२ घर भई ललितपुर-१७ भेल्पा सातदोबाटो बस्ने ३४ वर्षीय बुद्धराज तिमिल्सिना घाइते भएका थिए ।

उनको उपचारको लागि बिएन्डबी अस्पताल लगिएको थियो । त्यहाँ उपचारको क्रममा सवा ९ बजे मृत्यु भएको हो ।

मोटरसाइकल चालक धुनिबेशी नगरपालिका-७ का ३८ वर्षीय तुलसीराम गिरी घाइते छन् ।

उनको बिएन्डबी अस्पतालमा उपचारपछि थप उपचारको लागि ट्रमा सेन्टर रिफर गरिएको छ । उनी उक्त नगरपालिकामा कार्यरत कर्मचारी हुन् ।

प्रहरीका अनुसार उनको अवस्था मध्यम छ । दाहिने घुँडा र टाउकोमा चोट लागेको छ ।

दुबै सवारीसाधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

© 2024 All right reserved Site By : Himal Creation || सञ्चार रजिस्ट्रार दर्ता नं : ०००९७