सहमतीय प्रणाली तोडेर बहुमतीय प्रणालीमा जाँदा १६ वर्षसम्म शान्ति प्रक्रिया टुंगिएन (भिडिओसहित)

काठमाडाैं । नेकपा माओवादी केन्द्रका नेता खिमलाल देवकोटाले १६ वर्षसम्म पनि शान्ति प्रक्रिया नटुंगिनुको कारण बहुमतीय राजनीतिक प्रणाली भएको निष्कर्ष निकालेका छन् ।

हुलाक सञ्चारसँग कुरा गर्दै नेता देवकोटा भन्छन्, ‘विस्तृत शान्ति सम्झौतापछि केही समय सहमतिको राजनीति अघि बढ्यो । बिस्तारै सहमति नभइ बहुमतिय प्रणाली स्थापित भएपछि शान्ति प्रक्रियाका कामहरु अवरुद्ध हुन पुगे । १६ वर्षसम्म शान्ति प्रक्रिया सम्पन्न हुन नसक्नुको मुख्य कारण यही हो ।’

नेता देवकोटाका अनुसार शान्ति प्रक्रियाका बाँकी रहेका सबै काम टुंग्याउने भनेको सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता व्यक्ति छानबिन सम्बन्धी आयोगबाटै हो । अदालतमा मुद्दा हालेर शान्ति प्रक्रिया बिथोल्ने प्रयास भए पनि त्यो सम्भव हुनेछैन । अदालत द्वन्द्वकालिन न्याय निरुपणका सवालमा गलत बाटोमा जानेछैन । अदालतमा परेको मुद्दाले प्रधानमन्त्री पुष्पकमल दाहालले पद छाड्नुपर्ने अवस्थाकोसमेत कल्पना गर्न सकिँदैन ।

अहिले चार हजार भन्दा बढी अयोग्य लडुकलाई जनही २ लाख रुपैयाँ दिने कुरा जायज छ । यो आठ वर्षअघि विष्णु पौडेल अर्थमन्त्री हुँदा भएको निर्णय हो । त्यसै त ढिलो भैसकेको छ, अहिले फेरि कचकच गर्नुको कुनै तुक छैन । सरकारले लडाकुहरुलाई क्षतिपूर्तीसहित रकम उपलब्ध गराउनुपर्छ । रकम दिने विषयमा कुनै विवाद छैन । अदालतले पनि यो कुरा टुंग्याइसकेको छ ।

नेपालको अदालतले राजनीतिक मुद्दाको कानुनी उपचार खोज्दा समस्या हुने गरेको छ । यो बिल्कुल गलत कुरा हो । राजनीतिक मुद्दालाई फौजदारी अभियोगकारुपमा लैजानु भनेको द्वन्द्व निम्त्याउनु हो । यसरी अगाडि बढ्दा त प्रचण्ड मात्र के देशमा कोही पनि बाँकी रहँदैन । अदालतले प्रचण्डविरुद्धको मुद्दालाई पनि सत्य निरुपणमार्फत नै हल खोज्न बाटो सुल्झाउने देवकोटाको विश्वास छ ।

देवकोटा भन्छन् ‘हाम्रो संसद हङ मात्र होइन सुपरहङ पार्लियामेन्ट भयो । यस्तो पार्लियामेन्टमा नयाँ–नयाँ राजनीतिक समीकरण बन्नु अनौठो होइन । यसले स्थिरता दिँदैन । यस्तो संसद र राजनीतिक प्रणालीबाट विधि, मूल्य, मान्यता, आदर्श र सिद्धान्तको अपेक्षा पनि गर्न हुँदैन । अहिले दलहरुबीच देखिएका सिद्धान्तहीन गठबन्धनहरु स्वभाविक हुन । यसमा अनौठो मान्नुपर्ने केही छैन । ’

राजनीतिक स्थायित्वका लागि सबैभन्दा पहिले निर्वाचन प्रणालीमा सुधार गर्नुपर्छ । सबैभन्दा राम्रो प्रत्यक्ष निर्वाचित कार्यकारी र पूर्ण समानुपातिक निर्वाचन प्रणाली नै हो । निर्वाचन प्रणालीमा सुधार गरेपछि दलहरुले आफनो आचरण र संस्कारमा परिवर्तन ल्याउनपनि जरुरी छ । अन्यथा मुलुकको राजनीतिले कहिल्यै स्थिरता पाउने छैन ।

विस्तृत भिडिओमा :

© 2024 All right reserved Site By : Himal Creation || सञ्चार रजिस्ट्रार दर्ता नं : ०००९७