
काठमाडौं । नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ पुगेको छ ।
राष्ट्रिय तथ्यांक विभागले शुक्रबार राष्ट्रिय जनगणना २०७८–७९ को नतिजा सार्वजनिक गरी २०७९ मंसिरसम्म देशको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ पुगेको जानकारी दिएको हो ।
शुक्रबार सार्वजनिक गरेको १२ औँ जनगणना २०७८ को अन्तिम र विस्तृत प्रतिवेदनमा नेपालमा एक करोड ४२ लाख ५३ हजार ५ सय ५१ अर्थात् (४८.९८ प्रतिशत) पुरूष र एक करोड ४९ लाख ११ हजार २७ अर्थात् (५१.०२ प्रतिशत) महिला छन् ।
अन्य लिङ्गीको संख्या दुई हजार ९२८ छ। यो कुल जनसंख्याको ०.००१ प्रतिशत हो ।
यसअघि २०७८ माघ १२ मा कार्यालयले नेपालको जनसंख्या दुई करोड ९१ लाख ९२ हजार चार सय ८० रहेको प्रारम्भिक प्रतिवेदन सार्वजनिक गरिएको थियो ।
विस्तृत र अन्तिम प्रतिवेदनमा भने २७ हजार ९०२ कम अर्थात् दुई करोड ९१ लाख ६४ हजार ५ सय ७८ जनसंख्या देखिएको हो ।