विराटनगरमा प्रहरीको लाठीबाट घाइते आन्दोलनकारीको उपचारका क्रममा मृत्यु

काठमाडौं । कोशी प्रदेशको नाम खारेजी गर्नुपर्ने मागसहित आन्दोलनमा रहेका बेला प्रहरीको लाठीबाट घाइते भएका एक आन्दोलनकारीको उपचारका क्रममा मृत्यु भएको छ ।

नाम खारेजीको मागसहित चैत ५ गते विराटनगरमा भएको प्रदेशको नामांकनविरूद्ध प्रदर्शनमा जाँदा प्रहरीको लाठी लागेर घाइते भएका संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च मातहत लिम्बुवान भोलेन्टियर्सका केन्द्रीय सह-कमाण्डर पदमबहादुर लिम्बुको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा शुक्रबार बिहान साढे २ बजे मृत्यु भएको हो ।

पहिचानको आधारमा प्रदेशको नामाकरण गर्नुपर्नेमा त्यसो नगरिएको भन्दै पहिचानावादी राजनीतिक दल तथा संघ-संगठन आन्दोलनमा छन् ।

४२ वर्षीय लिम्बू धरान उपमहानगरपालिका-१५ मा बसोबास गर्थे ।

उनको मृत्युपछि किराँत याक्थुङ चुम्लुङ, आदिवासी जनजाति महासंघ, पहिचानसहितको प्रदेश १ पुनस् नामांकन अभियान समिति, किराँत राई यायोक्खा र नेपाल शेर्पा संघले विज्ञप्ति जारी गरेका छन् ।

विज्ञप्तिमा लिम्बुको मृत्यु प्रकरण छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरिएको छ ।

© 2024 All right reserved Site By : Himal Creation || सञ्चार रजिस्ट्रार दर्ता नं : ०००९७