स्वदेश फर्काइयाे बेलारुसमा अलपत्र परेका ९ जना नेपाली महिला

काठमाडाैं । बेलारुसमा अलपत्र नाै जना नेपाली महिलालाई स्वदेश फर्काइएको छ । आज शुक्रबार उनीहरूलाई नेपाल फर्काइएको हो ।

नेपाल फर्काइनेमा सानुमाया तामाङ, कविता थापा मगर, अञ्जना मगर, रत्नमाया राई, पार्वती कितुङ, रमिता राई, सुस्मा तामाङ, मिना गुरुङ, मार्फा सोताङ राई रहेका छन् ।

उनीहरूलाई नेपाल फर्काइएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेकपा (एकीकृत समाजवादी) की सांसद जयन्तीदेवी राईले स्वदेश फर्किएपछि अब बलियो आत्मविश्वास बनाएर अघि बढ्न सुझाव दिइन् । उनले विदेशमा पुर्‍याई अलपत्र बनाउनेहरूलाई सरकारले कारबाही गर्ने आश्वासन पनि दिइन् ।

त्यस्तै, स्वदेश फर्काइएकी पीडित सानुमाया तामाङले बेलारुसमा आफूहरूले दैनिक १२ घण्टा काम गर्नुपरेको तर भनेको पारिश्रमिक नदिएको र पीडा दिने गरेको बताए । उनले नेपालबाट जाँदा एजेन्टहरूले डलरमा पैसा दिने भने पनि बेलारुसमा गएपछि बेलारुसी रुबेल ७५ दैनिक पाउने गरेको बताइन् ।

पीडित नाै जना महिलालाई विभिन्न सङ्घ–संस्थाहरूको सहयोगमा नेपाल फर्काइएको हो । उनीहरू टिकटक लाइभमा आएर स्वदेश फर्काइदिन आग्रह गरेपछि नेपालबाट स्वदेश फर्काउने प्रयास भएको हो ।

© 2024 All right reserved Site By : Himal Creation || सञ्चार रजिस्ट्रार दर्ता नं : ०००९७