• २०८३ जेठ २५
  • 2026 June 08, Monday

वडाबाट टनेल पाउँदा कृषक खुशी

गुल्मी । गुल्मीमा कृषकलाई टनेल वितरण गरिएको छ । जिल्लाको धुर्काेट गाउँपालिका वडा नं. १ ले नयाँगाउँका तीस कृषकलाई प्लास्टिक टनेल वितरण गरेको छ ।

धुर्काेट गाउँपालिका वडा नं. १ को आ.व. २०७९।०८० को वार्षिक कार्यक्रम अन्तर्गत एक घर एक करेसाबारी कार्यक्रम अनुसार प्रत्येक कृषकलाई घरघर टनेल र अर्गानिक तरकारी उत्पादन गर्ने उदेश्यले यो कार्यक्रम लिइएको वडा नं १ वडा अध्यक्ष चेतमान कुँवरले जानकारी दिए ।

उनले भने, ‘हामीले टनेल वितरण विगत जस्तो गर्दैनाैँ जो कृषकले टनेल घर निर्माण गरि आउनुहुन्छ हामी त्यहाँ प्राविधिक पठाउछौँ । र अनुगमन पश्चात मात्र उहाँहरुलाई टनेल हस्तान्तरण गर्छाैँ ।’

वडा कार्यालयले निवेदन माग गरे अनुसार ३० जना कृषकले आवेदन पेश गरेतापनि हाल अनुगमनमा जाँदा ९ जनाले मात्र टनेलघर निर्माण गरेको पाइएकोले उनीहरुलाई मात्र वितरण गरेको कृषि प्राविधिक भावना महतले जानकारी दिइन् ।

सोही कार्यक्रमको बारेमा वडा सचिव नारायण पोख्रेलले भने, ‘टनेल बुझ्न बाँकी रहेका कृषकलाई टनेल घर बनाउन भनेका छौं उहाँहरुले टनेल घर बनाएपछि हाम्रा प्राविधिक साथीहरुलाई कृषककै घरमा अनुगमन गरेर टनेल हस्तान्तरण पनि सोही ठाउँबाटै गराउनेछौँ । कृषकले टनेल लिनको लागि पटक पटक वडा कार्यालय धाउनु पर्दैन ।’

गाउँपालिका वडा नं १ नयाँगाउँका वडाध्यक्ष चेतमान कुँवरको अध्यक्षता रहेको कार्यक्रममा, कार्यपालिका सदस्य कश्मिरा अधिकारी, वडा सदस्य लक्ष्मण थापा, वडा सचिव नारायण पोख्रेल, कृषि प्राविधिक भावना महत र कृषकहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन पशु प्राविधिक नारायण जिसीले गरेका थिए ।