‘आमाको माया’ छात्रावासको १३ औँ वार्षिकोत्सव सम्पन्न

काठमाडाैं । जनजाति कल्याण आश्रम नेपालद्वारा सञ्चालित आमाको माया छात्रावास, बागमती प्रदेशको १३औं वार्षिकोत्सव सम्पन्न भएको छ ।

वार्षिकोत्सव समारोहका आकर्षण प्रख्यात अभिनेता, पटकथा लेखक एवं निर्देशक डा. चन्द्रप्रकाश द्विवेदी रहेका थिए । चाणक्य टेलीशृङ्खलामा आचार्य विष्णुगुप्त ‘चाणक्य’कै मुख्य भूमिका निर्वाह गरेका डा. द्विवेदीले कल्याण आश्रमको प्रकल्पहरूबाट जनजाति समाजको परिचय र उनीहरूको स्वधर्म-संस्कृतिको संरक्षणमा महत्त्वपूर्ण योगदान पुगिरहेको उल्लेख गरे ।

विश्वभरिका सनातन वैदिक धर्मावलम्बीका लागि नेपाल आफैमा एउटा तीर्थक्षेत्र रहेको उल्लेख गर्दै उनले आफ्नो मौलिक सांस्कृतिक गरीमा बचाइराखेकोमा सम्पूर्ण नेपालीजनप्रति आभार व्यक्त गरे ।

शान्तिधाम नेपालका पीठाधीश स्वामी चतुर्भुजाचर्य चूड़ामणि महाराजले सेवाको माध्यमबाट समाजमा महनीय प्रभाव पार्दै आएकोमा कल्याण आश्रमको कार्यको प्रशंसा गरे । मानव शरीर सेवाकै निम्ति प्राप्त भएको र वञ्चित-पीड़ितको सेवा पनि भगवान् नारायणकै सेवा रहेको उनले उल्लेख गरे ।

भोजन, आवास र शिक्षासँगै योग्य, संस्कारवान् र चरित्रवान् नागरिक निर्माणमा पनि ध्यान दिएको भन्दै हिन्दू स्वयंसेवक संघ नेपालका राष्ट्रिय सह-प्रचारक रेवित कुमारले कल्याण आश्रमको सराहना गरे । सबलले निर्बलको, सक्षमले असक्षमको चिन्ता गर्नुपर्ने भन्दै उनले समग्र समाजलाई कल्याण आश्रमद्वारा सञ्चालन गरिएका प्रकल्पहरूसित उदार मनका साथ जुड्न आह्वान गरे ।

बौद्ध दर्शन तथा गुम्बा विकास समितिका अध्यक्ष फुपू छेम्बे शेर्पा ‘थुप्तेन जिग्दोल’ले देशभरि सञ्चालन भइरहेको जनजाति कल्याण आश्रम नेपालका प्रकल्पहरूमा आफू प्रत्यक्ष सहभागी हुनपाएको उल्लेख गरे । ज्ञानसँगै संस्कार पनि प्रदान गर्दै आएकोमा यसले बालबालिकाको हृदयको विकासमा पनि जोड़ दिएको उनले बताए ।

सामाजिक उत्तरदायित्व वहन गर्दै सेवाकार्यमा समर्पित हुने मारवाडी समुदायप्रति उनले आभार व्यक्त गरे । यो काम समाजका लागि उदाहरणीय बनेको पनि उनले बताए । वर्तमान समयमा पश्चिमबाट आएका पन्थहरूले नेपाली सभ्यता र बौद्ध, किरात एवं हिन्दू जस्ता पूर्वीय चिन्तनलाई ओझेलमा पारिरहेको अवस्थामा हामी सबैको सहकार्यमा जनजनमा स्वधर्मको चेतना विस्तार गर्नुपर्नेमा उनकाे जाेड थियाे ।

कार्यक्रममा स्वागत मन्तव्य नेपाली सेनाका सेवानिवृत्त मेजर जेनेरल नरबहादुर कँडेलले राखेका थिए । भने जनजाति कल्याण आश्रमको स्थापनादेखि वर्तमानसम्मको संक्षिप्त परिचय महासचिव प्रेम थुलुङले प्रस्तुत गरेका थिए ।

पूर्व आईजीपी तथा पूर्व कानूनमन्त्री ध्रुवबहादुर प्रधान, राष्ट्रगानका रचनाकार प्रदीप कुमार राई ‘व्याकुल माइला’, पूर्व एआईजी तथा हिन्दू स्वयंसेवक संघ नेपालका राष्ट्रिय सह-संघचालक कल्याण कुमार तिम्सिनालगायतका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रममा नेपाली सेनाका रथी सीताराम खड्का प्रमुख अतिथि थिए । खड्काकाे उपस्थितिमा जनजाति कल्याण आश्रम नेपालको वेबसाइटको लोकार्पण समेत भएको छ । लर्ड बुद्ध एजुकेशन फाउन्डेशनको प्राविधिक सहयोगमा निर्माण भएको वेबसाइटमा संगठनको परिचय र गतिविधि समेटिएको छ ।

वरिष्ठ व्यावसायी एवं समाजसेवी प्रमोद कुमार अग्रवालको सभापतित्वमा काठमाडौंमा आयोजित समारोहमा देशका विभिन्न स्थानमा सञ्चालित छात्रावासमा रहेर अध्ययन गरिरहेका बालबालिकाले नृत्य, योग, गीत आदि सांस्कृतिक प्रस्तुतिहरू पेश गरेका थिए ।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१