• २०८३ असार १३
  • 2026 June 27, Saturday

२४ वटा नमूना परीक्षण गर्दा सबै ओमिक्रोन भेरिएन्ट

काठमाडाैं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस संक्रमण बढिरहेको जनाएको छ।

मन्त्रालयका सहप्रवक्ता डाक्टर समीरकुमार अधिकारीले सोमबार विज्ञप्ति जारी गर्दै छिमेकी मुलुक भारतमा कोरोना भाइरसको नयाँ भेरिएन्ट ओमिक्रोन एक्सविवी १.१६ देखिएकाले नेपालमा पनि संक्रमण बढिरहेको जानकारी दिएका छन् ।

संक्रमण बढिरहेकाले रोकथाम र नियन्त्रणका लागि सबै तह र तप्काबाट प्रभावकारी भूमिका निर्वाह गर्न उनले आग्रह गरेका छन् । उनले रोकथाम र नियन्त्रणका लागि जनस्वास्थ्यका मापदण्डको पालना गर्न र गराउन सबै सरोकारवाला निकायलाई आग्रह गरेका हुन् ।

उनका अनुसार यही चैत महिनामा २४ वटा नमूना परीक्षण गरिएकामा २४ वटैमा ओमिक्रोन भेरिएन्ट पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार कोभिड–१९ मा हुने अणुवांशिक परिवर्तनको पहिचान राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको हो । सोअनुसार ओमिक्रोन विए १.१ दुइटा, ओमिक्रोन विए दुइटा, ओमिक्रोन विए २.७६ एउटा, ओमिक्रोन विए ५ दुइटा भेरियन्ट फेला परेका हुन् ।

त्यस्तै ओमिक्रोन विए ५.२ दुइटा, ओमिक्रोन एक्सविवी १.१६ दश वटा, ओमिक्रोन एक्सविवि १.५ तीन वटा, ओमिक्रोन एक्सविवी २.६ एउटा र ओमिक्रोन एक्सविएफ एउटा फेला परेका छन् ।

‘कोभिड–१९ महामारी अझ पनि पूर्ण रूपमा नियन्त्रणमा आइसकेको छैन । खोप, जनस्वास्थ्यका मापदण्डलगायत बहुक्षेत्रीय संयन्त्रको संयुक्त सहकार्यबाट यसको रोकथाम, नियन्त्रण तथा उपचारले जटिलता हुनबाट जोगाउने अवस्था रहेको छ,’ मन्त्रालयका सहप्रवक्ता डाक्टर अधिकारीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

सोमबार ७६ जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । रासस