• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

उपनिर्वाचनका लागि तीन क्षेत्रमा ६९ जनाको उम्मेदवारी दर्ता

काठमाडाैं । आगामी वैशाख १० गते हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि तीन वटा निर्वाचन क्षेत्रमा गरी ६९ जनाले मनोनयन दर्ता गराएका छन् ।

जसमा ३३ जना दलको तर्फबाट र ३६ जना स्वतन्त्र रहेको निर्वाचन आयोगले जनाएको छ ।

आयोगका अनुसार सोमबार उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने कार्यक्रम तीन वटै निर्वाचन क्षेत्रमा शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ ।

चितवन जिल्ला निर्वाचन क्षेत्र नं. २, तनहुँ जिल्ला निर्वाचन क्षेत्र नं. १ र बारा जिल्ला निर्वाचन क्षेत्र नं. २ मा हुने उपनिर्वाचनका लागि सम्बन्धित निर्वाचन क्षेत्रमा यही चैत १८ गते स्थापना भएका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मनोनयनपत्र दर्ता गरिएको हाे ।

चितवन जिल्ला निर्वाचन क्षेत्र नं. २ मा २४ जना, तनहुँ जिल्ला निर्वाचन क्षेत्र नं. १ मा ९ जना र बारा जिल्ला निर्वाचन क्षेत्र नं. २ मा ३६ जना उम्मेदवारहरूले उम्मेदवारी मनोनयन दर्ता गराएकाे आयाेगले जनाएकाे छ ।