काठमाडौं । गायक रामकृष्ण ढकालको स्वरमा ‘नदी’ बोलको गीत सार्वजनिक गरिएको छ । सोमबार राजधानीमा कार्यक्रमको आयोजना गर्दै भिडियोसहित मेलोडियस गीत सार्वजनिक गरिएको हो ।
वरिष्ठ गीतकार आनन्द अधिकारी, वरिष्ठ संगीतकार न्यूह बज्राचार्य, पूर्व प्रधान सेनापति प्रज्ज्वल शमशेर जंगबहादुर राणा, सैनिक श्रीमती संघकी अध्यक्ष सुनिता शर्मा, सचिव शोभना पौड्याल लगायतका अतिथिहरुको उपस्थितिमा निर्माण टिमद्धारा गीत लोकार्पण गरिएको हो ।
सिन्धु राणाको शब्द, हरि लम्सालको संगीत रहेको यो गीतलाई देवेन्द्र नेवाले एरेन्ज गरेका हुन् । सागर ज्ञवालीको निर्देशनमा तयार भिडियोमा गायक रामकृष्ण स्वयंम फिचर्ड छन् भने उनका साथमा नव–मोडल पुनम भुषालको अभिनय छ ।
गायक रामकृष्ण ढकालले ‘नदी’ आफूलाई हिजोका दिनमा चिनाउने धारको मेलोडिएर गीत भएको बताए ।
‘हिजो आज गीत अलि फाष्ट खालको, नाच्ने खालको बनाउने प्रचलन छ । तर, यो त्यो भन्दा फरक खालको गीत हो’ ढकालले भने, ‘मैले हिजोका दिनमा जुन खालको ट्रेन्ड फलाे गरेँ र जसरी काम गर्दै आएँ यो मलाई चिनाउने सोही धारको गीत हो ।’
उनले यो जतिबेला सुन्दा पनि आनन्द आउने खालको गीत भएको बताए । ‘नचाउने, उफार्ने खालको गीत पनि गर्छु । यो सुन्दा आनन्द आउने खालको मेलोडियस गीत हो’, ढकालले भने ।
हेर्नुहाेस् गीतकाे भिडिओ :