
काठमाडाैं । अहिले देशमा एकपछि अर्को गर्दै भ्रष्टाचार र ठगीका घटना सार्वजनिक भइरहेका छन् । यतिसम्मकी राजनीतिक दलका प्रमुख नेताहरु नै अनियमितता र ठगीमा संलग्न भएका घटना सार्वजनिक भइरहेका छन् ।
पछिल्लो समय ८७५ जना नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाइएको घटनामा हाल नेकपा एमालेका रहेका नेता टोपबहादुर रायमाझी र रामबहादुर थापा पनि मुछिएका छन् । रायमाझीका छोराले बुझेको डेढ करोडको चेक त सामाजिक संजालमा भइराल नै भएको छ ।
यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाराम श्रेष्ठले व्यवसायी दुर्गा प्रसाईसँग २ करोड घुस मागेको अडियो पनि सार्वजनिक भएको छ ।
प्रसाईले सो पार्टीका अध्यक्ष रवि लामिछानेले बिगतमा आफूसँग २५ लाख रुपैयाँ मागेको समेत दाबी गरेका छन् ।
यसअघि नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र र राप्रपाका नेताहरुबाट भएको अनियमितताका घटना आएकै थिए । प्रधानमन्त्री भैसकेका व्यक्तिहरु पनि सानाठूला अनियमितताका घटनामा मुछिएका छन् । प्रधानसेनापतिदेखि प्रधानन्यायाधीश र प्रहरी महानिरीक्षकमाथि समेत भ्रष्टाचारका आरोपै आरोप छन् ।
नेकपा क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्य एवम कर्णाली इन्चार्ज दिपकबहादुर शाहीका अनुसार यो ठगहरुको व्यवस्था भएकाले यो प्रकारका घटना हुनु सामान्य हो । हिजो नयाँ नेपाल बनाउने भनेर सशस्त्र द्वन्द्व गरेकाहरु पनि आज दलाल पूँजीवादीको पञ्जामा परेर भ्रष्ट भएको उनको भनाइ छ ।
शाही भन्छन्, ‘यो व्यवस्थामा हुने भनेकै यही हो । अहिलेका गगन, विश्वप्रकास, स्वर्णिम वा रवि लामिछाने सबै यही व्यवस्थाका उत्पादन हुन् । उनीहरुले सेवा गर्ने भनेकै दलाल पूँजीवादीलाई हो । देश र जनताको नाममा ठगी धन्दा चलाएकाछन् । उनीहरुको विचार सिद्धान्त केही पनि छैन । म त भन्छु कांग्रेस, एमाले, माओवादी, समाजवादी सबैले एउटै दल बनाए हुन्छ । बरु त्यो पार्टीको नाम नेपाल लुटेरा दल राखे हुन्छ । ’
नेता शाहीका अनुसार अबको विकल्प भनेकै बैज्ञानिक समाजवाद हो । आजको गणतन्त्र हिजोको पञ्चायत भन्दा उन्नत भएपनि अबको लक्ष्य जनवाद र समाजवाद हुनुपर्छ । यसका लागि क्रान्ति आवश्यक छ ।
नेकपा क्रान्तिकारी माओवादी क्रान्तिको तयारीमा छ । यो क्रान्ति भनेको हिजोको जस्तो हतियार उठाएर युद्ध गर्ने होइन । जनतालाई सुसुचित गर्ने हो । यो अराजकता र अन्याय देखेर जनता आफै विद्रोमा उत्रिनेछन् । त्यो विद्रोह तेस्रो जनआन्दोलनमा रुपान्तरण हुनेछ ।
अबको चार वर्ष भित्रै तेस्रो जनआन्दोलन हुने र त्यहींबाट समाजवादको यात्रा प्रारम्भ हुने शाहीको दाबी छ । यसका लागि नेकपा क्रान्तिकारी माओवादीले बिचार मिल्नेसंग एकता र सहकार्य गर्दै शक्ति संचय गरिरहेको छ ।
बिस्तृत भिडिओमा :