काठमाडौं । शान्ति प्रकृयाको बाँकी कामका रुपमा रहेको संक्रमणकालीन न्यायसम्बन्धी काम सम्पन्न गर्ने सन्दर्भमा अन्तर्राष्ट्रिय अनुभवहरु साटासाट गर्न संविधानसभाका अध्यक्षसहतिको टोली यतिबेला कोलम्बियाकाे बाेगोटामा छ ।
उक्त टोली गएको सोमबारदेखि कोलम्बियाको विभिन्न प्रतिनिधिसँग भेटघाटको कार्यक्रममा व्यस्त छ । उक्त टोलीले बिहीबारसम्म आफ्नो भेटघाटको कार्यक्रम राखेको छ ।
गएको सोमबार टोलीले कोलोम्बियाका पूर्व मन्त्री जुवान फर्नाण्डो क्रिष्टो, पूर्व सेनापति अल्वेर्टो मेजी र अवकाश प्राप्त कर्णेल भिन्सेन्ट सार्मिएण्टोसँग शान्ति प्रकृयामा सरकारी पक्षको पहलकदमी शान्ति प्रकृयाका चुनौतिका बारेमा छलफल गरेको थियो ।
यसैगरी, मंगलबार कोलोम्वियाको विद्रोही दल फार्कको तर्फबाट शान्ति प्रकृयामा महत्वपूर्ण भुमिका निर्वाह गरेका स्थापित वकिल डिएगो मार्टिनेजसँग छलफल गरिएको र सो क्रममा क्रान्तिकारी विद्रोहीका तर्फबाट वार्तामा रहँदा र शान्ति प्रकृयाका क्रममा झेल्न परेका समस्याका बारेमा छलफल गरिएको छलफलमा सहभागी नेताले जानकारी दिए ।
यसैगरी, द्वन्दको अनपेक्षित परिणामका रुपमा रहेको द्वन्द पीडितहरुका सम्वन्धमा परिपुरणका बारेमा परिपुरण विभागकी पूर्व डेपुटी डाइरेक्टर इरिस मार्टिन ओरिज सँग पनि नेपाली टोलीले छलफल गरेको थियो ।
भेटका क्रममा कोलम्बियाका प्रतिनिधिले कुल जनसंख्याको ७० प्रतिशत पीडित रहेको, झण्डै एक लाख बीस हजार मानिसहरु वेपत्ता भएको, ८० लाख भन्दा वढी विस्थापित भएको तथ्यांकसहित विभिन्न सशस्त्र विद्रोहीहरुद्धारा अझै पनि विद्रोह जारी राखेको सन्दर्भमा पनि शान्ति प्रकृयालाई अगाडि बढाउने काम भइरहेको प्रतिक्रिया दिए ।
चार वर्ष लामो अभ्यास पछि शान्ति सम्झौतामा सन् २०१६ मा हस्ताक्षर भएको भए पनि सन् २०११ मा नै पीडितहरुका लागि परिपुरण दिने, र द्वन्दका वखत कव्जा गरिएका सम्पत्तिहरुको व्यवस्थापन गर्ने कानुन बनिसकेको र सोही कारणले शान्ति सम्झौताको वातावरण बनेको पनि उनीहरुले बताएको सहभागी नेताले जानकारी दिए ।
उक्त टोलीले संयुक्त राष्ट्रसंघीय विकास परियोजना यूएनडिपिकी सल्लाहकार मोनिका सिफुन्टेसँग पनि छलफल गरेको छ । बुधबार विद्रोही नेता तथा फार्कका मुख्य कमाण्डर रोड्रिगो लोण्डोनो, अर्का कमाण्डर राड्रगो ग्राण्डासँग पनि भेटघाट भएको छ ।
सबै भेटघाट तथा छलफलहरु नेपालका लागि महत्वपूर्ण शिक्षा हुने टोलीले अनुमान गरेको छ । उक्त टोलीमा प्रदिप ज्ञवाली, रमेश लेखक, राधेश्याम अधिकारी, पूर्व रथी चित्रबहादुर गुरुङ, पवन पाण्डे र खिमलाल देवकोटा रहेका छन् । शनिबार सबै भेटघाट कार्यक्रम सम्पन्न गरी स्वदेश फर्कने कार्यक्रम छ ।