भैरहवा । ट्रान्क्यूलिटी स्पाले स्पा संघ नेपालको साझेदारीमा र नेपाल पर्यटन बोर्डको समर्थनमा असार ५, २०८९ (जुन १९, २०२६) मा भैरहवास्थित सिद्धार्थ भिलसामा आरोग्य जनचेतना तथा पर्यटन प्रवर्द्धन कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ ।
यस कार्यक्रममा सरकारी अधिकारी, पर्यटन उद्योगका अग्रणी व्यक्तित्व, वेलनेश विशेषज्ञ तथा व्यापारिक समुदायका प्रतिनिधिहरु सहभागी भई लुम्बिनी प्रदेशमा स्वस्थ जीवन, र वेलनेश पर्यटनको प्रवर्द्धनमा जोड दिए ।
नेपालमा भइरहेको आरोग्य पर्यटन वर्षकोे सन्दर्भमा आयोजना गरिएको यो कार्यक्रमको उद्देश्य लुम्बिनी क्षेत्रमा पर्यटन वृद्धिमा आरोग्य पर्यटनको अपार सम्भावनाहरुको बारेमा जनचेतना फैलाउनु थियो।
कार्यक्रमको औपचारिक उद्घाटन नेपालका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेलले स्पा एसोसिएसन नेपालका अध्यक्ष सुरेश पुरी, आयोजक समितिका अध्यक्ष भुवन फैजु, नेपाल पर्यटन बोर्डका पूर्व प्रमूख कार्यकारी अधिकृत दीपक राज जोशी, होटल एसोसिएसन नेपालका केन्द्रीय सदस्य तथा सिद्धार्थ होटल एसोसिएसन (सान)का अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठ, लुम्बिनी प्रदेशका उद्योग, पर्यटन तथा यातायात मन्त्रालय सचिव नारद गैतम, सिद्धार्थ हस्पिटालिटी ग्रुपका संस्थापक अध्यक्ष लक्ष्मण न्यौपाने, र आयोजक समितिका सह–अध्यक्ष निशा श्रेष्ठको उपस्थितिमा गरेका थिए ।
आफ्नो सम्बोधनमा मन्त्री पौडेलले मानव जीवनको केन्द्रीय उद्देश्य खुशीको खोजी हो र यात्रा र वेलनेश त्यस खोजीसँग अन्तर्निहित रूपमा जोडिएका छन् भन्ने कुरामा जोड दिए । उनले नेपालको पर्यटनको मूख्य भाग आरोग्य पर्यटन सँग जोडिएको र देशको पर्यटन क्षेत्र यस बिना अधुरो रहेको बताए ।
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको बहुचर्चित मुद्दामा मन्त्री पौडेलले सहभागीहरूलाई आश्वासन दिए कि सरकारले विमानस्थललाई छिटोभन्दा छिटो पूर्ण रूपमा नियमित सञ्चालनमा ल्याउन सक्रिय रूपमा काम गरिरहेको छ। उनले भने, ‘नेपालले एक करोड पर्यटक आकर्षित गर्ने महत्वाकांक्षी लक्ष्य राखेको छ र यो लक्ष्य हासिल गर्न सरकारले थप ढिलाइ नगरी भैरहवा र पोखरा विमानस्थल दुवैलाई सञ्चालनमा ल्याउनुपर्छ।’ उनले यदि नेपाल आफ्नो पर्यटन लक्ष्यमा पुग्न गम्भीर छ भने यी शहरहरूलाई विश्वभरका अन्तर्राष्ट्रिय गन्तव्यहरू र विमानस्थलहरूसँग जोड्नु आवश्यक रहेको पनि बताए । उनले स्पष्ट पारे, ‘ढिलाइ राजनीतिक वा कूटनीतिक मुद्दाहरूको कारणले होइन तर नीतिगत कमजोरीहरूको कारणले भएको हो, जुन अहिले सम्बोधन भइरहेको छ।’
स्पा एसोसिएसन नेपालका अध्यक्ष सुरेश पुरीले नेपालमा वेलनेस टुरिज्मको सम्भावनाको बारेमा विस्तृत जानकारी दिए। उनले उपचार भन्दा रोकथाम बढी प्रभावकारी हुने कुरामा जोड दिए र आजको आधुनिक संसारमा तनाव व्यवस्थापनको लागि व्यायाम, योग र ध्यानलाई प्रभावकारी उपाय बताए ।
उनले नेपालका स्पा र वेलनेस तालिम संस्थानहरूले हाल सरकारबाट उचित सम्बद्धता (एफीलिएसन) प्राप्त नगरेकोमा गम्भीर चिन्ता पनि व्यक्त गरे । उनले भने, ‘यदि सरकारले यी तालिम संस्थानहरूलाई उचित सम्बद्धता प्रदान गर्ने हो भने, तालिमले मान्यता प्राप्त गर्दै प्रोटोकलहरू पालना गर्नेछ र उत्पादित जनशक्तिले सरकारद्वारा प्रमाणित प्रमाणपत्र प्राप्त गर्नेछन्, जसले गर्दा उनीहरू विश्वभरका आतिथ्य क्षेत्रमा उल्लेखनीय रूपमा स्वीकार्य हुनेछन्।’
ट्रान्क्यूलिटी स्पाले अधिकारिक रुपमा भैरहवाको सिद्धार्थ भिलसामा आफ्नो शाखा पूर्ण क्षमतामा सञ्चालनमा ल्याएको छ, जहाँबाट भगवान बुद्धको जन्मस्थल लुम्बिनीमा आएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटकलाई विश्वस्तरीय वेलनेश सेवा प्रदान गरिनेछ ।
यसले १८ वर्षदेखि देश तथा विदेशमा उच्चस्तरीय वेलनेश सेवा प्रदान गर्दै आएको छ, काठमाडौंको लाजिम्पाटबाट शुरु भएको यो स्पा अहिले काठमाडौँ, चितवन, पोखरा र मलेसियामा प्रख्यात होटलहरुसँगको साइझादारीमा सञ्चालित छ र भैरहवास्थित सिद्धार्थ भिलसामा नयाँ शाखा मार्फत लम्बन्नि प्रदेशमा विस्तार गरिसकेको छ । कम्पनीमा हाल ३ सय भन्दा बढीले रोजगारी पाएका छन् र कम्पनीको प्रशिक्षण विभाग ‘ट्रान्क्यूलिटी इन्टरनेश्नल ब्यूटी एण्ड स्पा एकेडेमी’बाट ३,५०० भन्दा बढी व्यक्तिलाई वेलनेश सीप प्रदान गरिसकिएको छ ।