• २०८३ असार १९
  • 2026 July 03, Friday

भारतमा पत्रकारसँग कुरा गरिरहेका पूर्वसांसदको गोली हानी हत्या

भारतको उत्तर प्रदेशमा लोकसभाका पूर्वसांसदको गोली हानी हत्या गरिएको छ। टाइम्स अफ इन्डियाका अनुसार प्रयागराजस्थित एक अस्पतालमा पत्रकारसँग कुरा गरिरहेका बेला पूर्वसांसद अतिक अहमद र उनका भाइमाथि गोली हानिएको थियो।

अतिक र उनका भाइलाई प्रहरीले परीक्षणका लागि अस्पताल लैजान लागेको थियो। अहमद दाजुभाइ उत्तर प्रदेशका विधायक राजु पाल र उमेश पालको हत्यामा अभियुक्त थिए। हिरासतमा रहेका उनीहरूलाई प्रहरीले एउटै हतकडी लगाएर अस्पताल पुर्या‍एको थियो।

अस्पताल छिर्ने क्रममा संवाददाताहरूले अतिकसँग केही दिनअघि उनका छोरा प्रहरी इन्काउन्टरमा मारिएको घटनाबारे प्रश्न सोधेका थिए। जवाफ दिइरहेका अतिकमाथि गोली हानिएको दृश्य टेलिभिजन क्यामरामा कैद भएको छ।

अतिक दाजुभाइमाथि दुई जनाले गोली हानेका थिए। उनीहरूसहित एक जना अर्का व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।

अतिक ग्याङस्टार थिए। आपराधिक गतिविधिबाट राजनीतिमा आएका अतिक सन् २००९ सम्म लोकसभाका सदस्य थिए।

आपराधिक गतिविधिमा संलग्न भएका अतिकका अरू दुई छोरा अहिले जेलमा छन्।