• २०८३ असार १९
  • 2026 July 03, Friday

डढेलो बढेसँगै काठमाडौँको वायु प्रदूषण उच्च

काठमाडौं । पछिल्लो केही दिन यतादेखि डढेलोका कारण काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा वायु प्रदूषण उच्च हुन थालेको छ । डढेलोका कारण उपत्यकाको वायुमण्डलमा दूषित हावा थुप्रिएको वन तथा वातावरण विभागले जनाएको छ । राजधानी काठमाडौंमा वायु प्रदूषण सबैभन्दा उच्च रहेको छ ।

विभागका महानिर्देशक शिवलाल तिवारीले जारी गर्नुभएको प्रेस विज्ञप्तिमा बारा, पर्सा, चितवनलगायत देशभरका एक सय ४० स्थानमा लागेको डढेलोका कारण काठमाडौं उपत्यकासहित देशको मध्य तथा पूर्वी भागमा वायुको प्रदूषण अत्यधिक बढेको पाइएको छ ।

प्रदूषण बिहान र बेलुकी अत्यधिक बढेको छ । विश्वभरका सहरहरूको वायु प्रदूषणको तथ्याङ्क राख्ने आईक्यू एयरका अनुसार आइतबार बिहानैदेखि काठमाडौँको हावाको स्तर अस्वस्थ रहेको छ ।

बिहान ९ः३० बजेको तथ्याङ्क अनुसार काठमाडौं विश्वकै दोस्रो प्रदूषित रहेको छ । नेपालभन्दा अघि थाइल्याण्डको चियाङ माई सहर रहेको छ ।

वायु प्रदूषणले बालबालिका, ज्येष्ठ नागरिक, श्वासप्रश्वासका बिरामी र मुटुका बिरामीलाई असर गर्ने भएकाले काम नपरेसम्म घरबाट बाहिर ननिस्कन, निस्कनै परे मास्क तथा चश्मा लगाउन र सावधानी अपनाउन आग्रह गरिएको छ ।