नयाँ बानेश्वरमा प्लस टु पास गरेरमात्र विदेश पढ्न जान पाइने व्यवस्था खारेजीको माग गर्दै प्रदर्शन

काठमाडौं । मंगलबार काठमाडौंको नयाँ बानेश्वरमा शिक्षा मन्त्रालयले प्लस टु पास गरेपछि मात्र अध्ययनका लागि विदेश जान दिने भनी ल्याएको व्यवस्था खारेजीको माग गर्दै विद्यार्थीहरूले प्रदर्शन गरेका छन् ।

सरकारले विद्यालय तहका विद्यार्थीलाई विदेश पढ्न जान रोक्ने गरी निर्देशिका ल्याएको छ । सरकारले फागुन १८ गते जारी गरेको निर्देशिकामा स्नातक वा त्योभन्दा माथिको उच्च शिक्षा पढ्न जानेका लागि मात्र एनओसी दिइने उल्लेख छ ।

उनीहरूले ‘शिक्षा हाम्रो भविष्य हो’, ‘हामीलाई एनओसी चाहियो’ लगायत लेखिएको प्लेकार्ड बोकेर,वैदेशिक अध्ययन स्वीकृतिसम्बन्धी निर्देशिका–२०७९’ खारेजीको माग गर्दै विद्यार्थीहरूले प्रदर्शन गरेका हुन् ।

यसअघि भाषालगायत विभिन्न कोर्स पढ्न विदेश जानेहरूलाई पनि मन्त्रालयले नो अब्जेक्सन लेटर (एनओसी) दिने गरेको थियो ।

प्रधानमन्त्री पुष्पकमल दाहालले शिक्षा मन्त्रालयको समेत जिम्मेवारी लिएका बेला एनओसीमा कडाइ गर्ने निर्देशिका ल्याइएको थियो । पहिलो पटक ल्याइएको यस्तो निर्देशिका चैत १९ गतेदेखि लागु भइसकेको छ ।

© 2024 All right reserved Site By : Himal Creation || सञ्चार रजिस्ट्रार दर्ता नं : ०००९७