व्यावसायिक मन्दीका कारण खाली हुन थाले सटर तथा गोदाम

काठमाडौै । व्यावसायिक मन्दीका कारण पछिल्लो समय सहरी क्षेत्रमा व्यापारिक प्रयोजनमा प्रयोग भइरहेका सटर तथा गोदाम खाली हुन थालेका छन् ।
मुलुकमा देखा परेको आर्थिक सङ्कटका कारण व्यापार नहुँदा छोडेर अन्यन्त्र जान थालेपछि सटर खाली हुन थालेका हुन् ।

मुख्य सहरी क्षेत्रसँगै भित्र गल्लीमा सञ्चालन भएका सटर तथा पसल बन्द हुन थालेका हुन् । आर्थिक गतिविधि नियमित नभई व्यापार व्यवसाय चल्न छाडेपछि पसल बन्द हुन थालेका हुन् ।

राष्ट्रिय व्यवसायी महासङ्घका अनुसार मुलुकभर ३० देखि ३५ प्रतिशत सटर बन्द भएका छन् । पछिल्लो समय आर्थिक गतिविधि सुस्त गतिमा चलायमान हुँदा व्यापार व्यवसायबाट पलायन हुनेको सङ्ख्या बढ्दै गएको हो ।

कोभिड–१९ को असरसँगै गत वर्ष देखा परेका रुस–युक्रेन युद्धका कारण मुलुकको आर्थिक गतिविधिमा प्रत्यक्ष असर परेको छ । व्यापार राम्रोसँग नहुँदा बालबच्चा पढाउन नसक्ने अवस्थामा पुगेपछि धेरै जना व्यवसाय छोडेर वैदेशिक रोजगारीमा गएको उनको भनाइ छ ।

उपत्यकामा मात्र महासङ्घमा २५ देखि ३० हजार सङ्ख्यामा व्यवसायी आबद्ध छन् । तिनको व्यापार पूर्ण रूपमा सञ्चालन हुन सकेको छैन । कतिपय व्यवसायबाट पलायन भएको तथा कतिपय पर्ख र हेरको अवस्थामा रहेको व्यवसायीको भनाइ छ ।

राष्ट्रिय व्यवसायी महासङ्घका पूर्वअध्यक्ष नरेश कटुवालले आर्थिक सङ्कटका कारण व्यापार व्यवसाय चल्न नसक्दा मुलुकभर ३० देखि ३५ प्रतिशत सटर खाली भएको जानकारी दिए ।

घरधनीको भाडा वृद्धि, बैङ्कको चर्को ब्याजदर र व्यापार नहुँदा किस्ता तिर्न नसक्ने अवस्थामा पुगेपछि सटर धमाधम बन्द हुन थालेकाे हाे । सहकारीबाट ऋण लिएर व्यापार व्यवसाय चलाउने गरेकामा अहिले नपाउँदा  पनि व्यवसाय सञ्चालन गर्न झनै कठिन भएको व्यवसायीको भनाइ छ ।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१