
बैतडी – भारतसंग सीमा जोडिएको झुलाघाटस्थित महाकाली नदी माथि मोटरेबल पुल निर्माण हुने भएको छ । नेपाल र भारत जोड्न महाकाली नदी माथि निर्माण हुने उक्त पुल क्षेत्रको स्थलगत निरीक्षण समेत गरिएको छ ।
उत्तराखण्डको अल्मोडा र पिथौरागढ जिल्लाका प्राबिधिकहरुले बुधबार पुल निर्माण हुने क्षेत्रको स्थलगत निरीक्षण गरेका भारतीय पत्रकार प्रमोदकुमार भट्टले बताए । इन्जिनियर ओम प्रकाश नेतृत्वको प्राबिधिक टोलीले नेपाल र भारत दुबै तर्फको स्थलगत निरीक्षण गरेको उनले बताए ।
झुलाघाट नाकामा अहिले झण्डै दुई सय बर्ष पुरानो झोलुंगे पुलबाट आवतजावत भइरहेको छ । यो नाकामा मोटरेबल पुल निर्माणका लागि सन् २००६ बाटै चर्चा शुरु गरिएको भएपनि बल्ल आएर पुल निर्माणको काम अघि बढ्ने संकेत देखिएको छ ।
झोलुंगे पुल रहेको क्षेत्रमा १ सय ५ मिटर लम्बाइको मोटरेवल पुल बनाउने योजना रहेकोमा पञ्चेश्वर परियोजनाको डुबान क्षेत्रमा पर्ने भन्दै काम अगाडि बढ्न सकेको थिएन् ।
अब बन्ने बन्ने मोटरेबल पुल भारततर्फ एसएसबी क्याम्प भन्दामाथि र नेपालतर्फ मौराभिरमा रहेको सशस्त्र प्रहरीको बीओपी नजिक पुल निर्माण स्थलको अवलोकन गरिएको हो । अब बन्ने पुलको लम्बाई ५ सय मिटरको हुने बताइएको छ ।
मोटरेबल पुल निर्माणका लागि करिब ४ सय करोड लागत अनुमान गरिएको छ । त्यसअघिको सर्भे कार्य, डीपीआर र मुआब्जाका लागि बेग्लै २० करोड रुपैयाँ लाग्ने अनुमान छ ।
झुलाघाट नाकामा मोटरेबल पुल निर्माणका लागि स्थलगत निरीक्षण भएपछि दुवै देशका नागरिक पुल बन्नेमा आसावादी देखिएका छन् ।