
काठमाडौ । जाजरकोटमा निर्माणाधीन मोटरेबल पुल भाँच्चिदा ९ जना गम्भीर घाइते भएका छन् । बिहीबार दिउँसो जाजरकोट-डोल्पा सडक खण्डअन्तर्गत निर्माण भइरहेको बेलिब्रिज भाँच्चिएको इलाका प्रहरी कार्यालय आठविसकोट रूकुम पश्चिमले जनाएको छ ।
रूकुम पश्चिमको आठबिसकोट नगरपालिकामा पर्ने गोतामकोट र जाजरकोटको नलगाड नगरपालिकाको तल्लु बगर जोड्नेगरी ठूली भेरीमाथि बनिरहेको उक्त पुल भाँच्चिएको हो । डोल्पा सडक खण्ड रूकुम र जाजरकोटका विभिन्न भागबाट बनेको छ ।
‘पुलको काम गर्दै गर्दा एक्कासी भाँच्चिएको रहेछ, पुलमा माथिपट्टि पाता हाल्दै गरेका ९ जना घाइते भएको भन्ने आएको छ,’ इलाका प्रहरी कार्यालय आठविसकोटका प्रहरी निरीक्षक विक्रम सुवेदीले भने, ‘सबैको अवस्था गम्भीर छ, अस्पताल ल्याइँदै छ।’
घटना भएको ठाउँदेखि जिल्ला सदरमुकाम पुग्न साढे २ घन्टा लाग्ने उनले बताए । काम गरिरहेका उनीहरू सबै नदीमा खसेपछि उद्धार गरिएको सुवेदीले जानकारी दिए ।