वनमा लागेको डढेलो बस्तीमा सल्किएपछि स्थानीय त्रसित, एक गाेठ जलेर नष्ट

बागलुङ । वनमा लागेको आगो बस्तीमा पस्दा भण्डारा सिरबारीमा एक गोठमा क्षति पुगेको छ । बागलुङको जैमिनी नगरपालिका–१ कान्लेको वनबाट लागेको आगोले भण्डारा सिरवारीमा एक गोठ जलेको हो ।

आगलागीबाट एक गोठ सहित एउटा मिनिटेलर र करिब साँढे २ सय मिटर सिँचाई पाइप जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

आगलागीका कारण विद्यालय, सामुदायिक भवन र केही घर गोठमा समेत आंशिक क्षति पुगेको छ ।

बिहिबार बिहान देखि जंगलमा लागेको आगो साँझसम्म ९० प्रतिशत नियन्त्रणामा आएको भएपनि पूर्ण रुपमा नियन्त्रणमा लिन नसकिएको कुश्मिसेरा प्रहरी चौकीका प्रमुख मिन बहादुर केसीले जानकारी दिए । अहिले पनि वनका केहि भागमा आगो लागिरहेको छ ।

आगलागीले कान्ले गाउँ सहित भण्डारा, सिरुवारी, कुश्मीगाउँ लगाएतका स्थान जोखिममा पर्ने देखिएपछि जिल्ला प्रहरी कार्यलय बागलुङबाट समेत प्रहरी टोली मगाएर बस्तीको जोखिम टारिएको उनले बताए ।

अहिले बस्ती नजिकको आगो नियन्त्रणमा लिइएको भएपनि बस्तीबाट टाढाको आगो भने नियन्त्रणमा लिन सकिएको छैन ।

आगलागीले थप जोखिम बढ्न नदिन सचेतना फैलाएको र आगो नियन्त्रणमा लिन नागरिकहरुको समेत साथ मागिएको जैमिनी नगरपालिका १ नं वडाका वडाध्यक्ष विष्णुप्रसाद आचार्यले जानकारी दिए ।

© 2024 All right reserved Site By : Himal Creation || सञ्चार रजिस्ट्रार दर्ता नं : ०००९७