शुल्क नतिर्ने ट्विटर प्रयोगकर्ताको खाताबाट ब्लु-टिक हट्न सुरू

काठमाडौं । बिहीबारदेखि ट्विटर इंकले शुल्क नतिर्ने प्रयोगकर्ताहरूको खाताबाट ब्लु-टिक हटाउन सुरू गरेको छ । ट्विटरले केही समय अघिदेखि नै ब्लु-टिकको लागि निश्चित शुल्क लाग्ने र सो शुल्क नतिर्ने प्रयोगकर्ताहरूको खाताबाट ब्लु-टिक हटाउने बताउँदै आएको थियो ।

एलन मस्क ट्विटरका प्रमुख कार्यकारी अधिकृत (सिइओ) भएसँगै उनले यो व्यवस्था लागू गर्ने बताएका थिए । नियम लागू हुन केही ढिलाई गरेपनि बिहीबारदेखि भने अधिकांश खाताबाट ब्लु टिक हटेको छ ।

ट्विटरले केही समय अघिदेखि नै सन् २०२३ को अप्रिल १ देखि व्यक्तिगत प्रयोगकर्ताहरूले ब्लू टिकको लागि मासिक ८ अमेरिकी डलर र संस्थाहरूले संस्थागत खातामा ब्लू टिकको लागि मासिक एक हजार डलर तिर्नुपर्ने नियमको घोषणा गरेको थियो ।

प्रख्यात व्यक्तित्वहरू जस्तै धनाड्य व्यक्ति बिल गेट्स, सेलिब्रेटीहरू किम कार्डासियन, अमिताभ बच्चन, साहरुख खान लगायतको ट्विटर खाताबाट पनि शुल्क नबुझाएको भन्दै ब्लु टिक हटेको छ । व्यक्तिहरूसँगै विभिन्न अन्तर्राष्ट्रिय संस्था, गैर(नाफामुलक संस्था र सार्वजनिक सेवा खाताहरूबाट पनि ब्लु टिक हटेको छ ।

ट्विटरले आफ्नो प्लेटफर्ममा रहेका खाताहरूलाई व्यवस्थित गर्न ब्लु टिक भेरिफिकेसनको सुरुआत गरेको थियो । तर सन् २०२२ मा मस्क ट्विटरका सिइओ भएसँगै ब्लु टिकको लागि सब्स्क्रिप्सन सुरू गरेका हुन् ।

 

© 2024 All right reserved Site By : Himal Creation || सञ्चार रजिस्ट्रार दर्ता नं : ०००९७