
काठमाडौं । कीर्तिपुर नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष श्यामकुमार अधिकारीको मृत्यु भएको छ ।
सवारी दुर्घटनामा परेका अधिकारीको काठमाडौंको माइतीघरस्थित अन्नपूर्ण न्युरो अस्पतालमा उपचारको क्रममा मृत्यु भएको उपमेयर शुभलक्ष्मी शाक्यले जानकारी दिइन् ।
उनलाई चिकित्सकले आइतबार दिउँसो २ बजेतिर मृत घोषणा गरेका हुन् ।
‘हिजोसम्म उहाँको स्वास्थ्यमा सुधार भइरहेको थियो । तर आज बिहान ३ बजेदेखि एक्कासि प्रेसर बढेको थियो। अहिले चिकित्सकले घोषणा गर्नुभयो,’ उनले भनिन् ।
कीर्तिपुरको चम्पादेवी मन्दिरमा वैशाख १ गते मेला लाग्छ ।
त्यसदिन व्यवस्थापन तथा सरसफाइका लागि वडाध्यक्ष अधिरकारी त्यहाँ पुगेका थिए । त्यही दिन बिहान पौने १० बजेतिर कीर्तिपुर-४ पुष्पलाल पार्कस्थित ओरालोमा बा ८३ प ९४४८ नम्बरको मोटरसाइकल दुर्घटना भएको थियो ।
मेलामा पुगेका वडाध्यक्ष अधिकारीको खुट्टा एक्कासी बाँउडिएपछि उनका साथी मनोज बुढाथोकीले उनलाई मोटरसाइकलमा राखेर घर ल्याउन लागेका थिए ।
पुष्पलाल पार्कस्थित ओरालोमा पुग्दा मोटरसाइकलको ब्रेक नलागेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
ब्रेक नलागेपछि अनियन्त्रित भएर मोटरसाइकल ढुंगामा ठोक्किँदा दुबै जना घाइते भएका थिए ।
स्थानीयले उनीहरू दुबै जनालाई अचेत अवस्थामा फेला पारेका थिए। कीर्तिपुर अस्पतालमा सिटीस्क्यान गरेलगत्तै उनलाई अन्नपूर्ण अस्पताल लगिएको थियो ।
अहिले शवको पोष्टमार्टम गर्न टिचिङ अस्पताल लग्ने तयारी गरिरहेको छ ।
अधिकारी गत वर्ष भएको चुनावमा स्वतन्त्र उम्मेदवार बनेर वडाध्यक्ष निर्वाचित भएका थिए ।