• २०८३ जेठ २२
  • 2026 June 05, Friday

आगामी एसिया कप श्रीलंकाले आयोजना गर्ने सम्भावना बढ्याे

काठमाडौं । एसियाली क्रिकेट काउन्सिल (एसिसी) ले पाकिस्तानबाट प्रतियोगिता सार्ने तयारी गरेसँगै आगामी एसिया कप श्रीलंकाले आयोजना गर्ने सम्भावना बढेको छ ।

भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बिसिसीआई) का सचिव समेत रहेका एसिसीका अध्यक्ष जय शाहले भारतीय टोलीले पाकिस्तान भ्रमण नगर्ने बताएदेखि नै पाकिस्तानमा एसिया कप हुनेमा शंका बढेको थियो ।

आगामी सेप्टेम्बरमा हुने प्रतियोगितामा भारत र पाकिस्तानसँगै श्रीलंका, बंगलादेश र अफगानिस्तनले भाग लिँदैछन् । नेपाल एसिसी प्रिमियर कपको च्याम्पियन बन्दै एसिया कपमा छनोट भएको थियो । एक समूहमा भारत र पाकिस्तानसँगै नेपालले प्रतिस्पर्धा गर्दा अर्को समूहमा श्रीलंका, बंगलादेश र अफगानिस्तान छन् ।

भारत र पाकिस्तानबीचको राजनीतिक तनावका कारण भारतले प्रतियोगितामा आफ्नो टोली पाकिस्तान पठाउन अस्वीकार गरेको छ ।

बंगलादेश र अफगानिस्तानले श्रीलंकामा प्रतियोगिता आयोजना गर्ने कदमलाई समर्थन गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । प्रतियोगिताको लागि स्थानको अन्तिम निर्णय यसै महिनाको अन्त्यमा हुने अपेक्षा गरिएको छ ।

पाकिस्तानले प्रतियोगिता बहिष्कार गर्न सक्ने संकेत गरेपछि अहिलेसम्म प्रतियोगितामा पाकिस्तानको सहभागिता अस्पष्ट छ ।

पाकिस्तान क्रिकेट बोर्ड (पिसिबी) ले प्रतियोगिता पाकिस्तानमै गर्न जोड दिइरहेको छ ।

बिसिसिआईले सरकारबाट अनुमति नभएको भन्दै प्रतियोगिताको लागि पाकिस्तान भ्रमण गर्न अस्वीकार गरेपछि पिसिबीले एसिया कप आयोजना गर्न हाइब्रिड मोडल प्रस्ताव गरेको थियो । जुन मोडनअनुसार भारतका खेलहरू मात्र दुबईमा आयोजना हुनेछन् । तर यो मोडललाई भारतले चासो दिएको छैन ।

एसिसी सदस्यहरुको भर्खरै भएको अनौपचारिक बैठकमा ओमानले पनि प्रतियोगिता आयोजना गर्न प्रस्ताव गरेको बुझिएको छ । तर ओमान र दुबईमा हुने गर्मीका कारण श्रीलंकालाई उचित स्थल मानिएको छ ।

यदि पाकिस्तानमा एसिया कप हुन नसके आगामी विश्वकपमा कस्तो प्रभाव पार्छ त्यो हेर्न बाँकी छ । पाकिस्तानमा एसिया कप हुन नसके अक्टोबर/नोभेम्बरमा भारतमा आयोजना हुने विश्वकपमा पनि उनीहरूको सहभागितामा प्रश्नचिन्ह खडा गर्नेछ ।