बागलुङ । सिवाईसी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, बागलुङले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रम अन्तर्गत बागलुङ नगरपालिका–९, फड्केडाँडा (शिवपुरी), तित्याङस्थित आशापूर्णेश्वर महादेव मन्दिर परिसरमा सरसफाइ तथा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ ।
विगतका वर्षहरूमा झैँ यस वर्ष पनि शिवालय मन्दिर व्यवस्थापन तथा संरक्षण समितिको समन्वयमा आयोजना गरिएको कार्यक्रममा मन्दिर परिसरको सरसफाइ गर्नुका साथै वातावरण संरक्षण र हरियाली प्रवर्द्धन गर्ने उद्देश्यले विभिन्न प्रजातिका ४८ वटा बिरुवा रोपिएको छ । साथै, विगतका वर्षहरूमा संस्थाद्वारा रोपिएका बिरुवाको गोडमेल, खाल्डा सफाइ तथा संरक्षणको कार्यसमेत गरिएको छ ।

कार्यक्रमको शुभारम्भ गर्दै संस्थाका अध्यक्ष चण्डीप्रसाद शर्मा पौडेलले वातावरण संरक्षण, धार्मिक स्थलको स्वच्छता तथा हरियाली प्रवर्द्धनका लागि सामूहिक सहभागिता अपरिहार्य रहेको उल्लेख गर्दै यस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गरे ।
सामाजिक तथा वातावरणीय उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै सिवाईसी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले यस्ता जनहितमुखी कार्यक्रमहरू नियमित रूपमा सञ्चालन गर्दै आएको जनाएको छ ।
कार्यक्रम संस्थाका अध्यक्ष चण्डीप्रसाद शर्मा पौडेलको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा शिवालय मन्दिर व्यवस्थापन तथा संरक्षण समितिका संरक्षक नीलप्रसाद उपाध्यायले मन्तव्य व्यक्त गरेका थिए । संस्थाका प्रबन्धक नवराज काफ्लेले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन प्रमुख कार्यकारी अधिकृत नवराज शर्माले गरेका थिए ।












