पाकिस्तानको प्रस्ताव : एसिया कपका चार खेल पाकिस्तान र बाँकी सबै खेल युएइमा गरौं

काठमाडौं । एसिया कप यस वर्षको सेप्टेम्बरमा पाकिस्तानमा हुने तय भएपनि दुई देशबीचको राजनीतिक तनावका कारण भारतले उक्त प्रतियोगितामा सहभागी हुन पाकिस्तान जान अस्वीकार गरेको छ ।

समस्या समाधान गर्न पाकिस्तानले एसियाली क्रिकेट काउन्सिलको बैठकमा हाइब्रिड मोडेल प्रस्ताव गर्‍यो । जसअन्तर्गत भारत बाहेक सबै टोलीले पाकिस्तानमा खेल्ने र भारतले आफ्ना खेलहरू तटस्थ स्थानमा खेल्ने भनिएको थियो । तर, भारतले यो प्रस्तावलाई पनि अस्वीकार गरेको छ र अहिले सम्पूर्ण प्रतियोगिता तटस्थ स्थानमा गराउन दबाब दिइरहेको छ ।

यस सम्बन्धमा एसियाली क्रिकेट काउन्सिल (एसीसी) र इमिरेट्स क्रिकेट बोर्डका अधिकारीहरूसँग महत्वपूर्ण बैठकका लागि पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) व्यवस्थापन समितिका प्रमुख नजम सेठी भर्खरै युएई गएका थिए। स्रोतका अनुसार मंगलबार सेठीले एसीसीका उपाध्यक्ष पंकज खिम्जीसँग भेट गरेका थिए जहाँ उनले हाइब्रिड मोडलका बारेमा थप जानकारी दिएका थिए ।

बैठकमा सेठीले एसिया कपलाई बचाउने प्रयासस्वरूप हाइब्रिड मोडलको प्रस्तावित कार्यतालिका र परिमार्जन प्रस्तुत गरेका थिए । प्रस्तावित तालिका अनुसार चार खेल पाकिस्तानमा हुनेछन् भने बाँकी सात खेल र फाइनल युएईमा हुनेछन् । भारत बाहेकका चार टोली श्रीलंका, बंगलादेश, अफगानिस्तान र नेपाल एउटा मात्र खेल खेल्न पाकिस्तान जानेछन् र त्यसपछि बाँकी खेलका लागि पाकिस्तानसहित चारै पाहुना टोली चार्टर्ड उडानबाट दुबई जानेछन् ।

बैठकको क्रममा पंकजले यो लजिस्टिक रूपमा सम्भव छ कि छैन र प्रसारणकर्ताहरूले दुई देशबीच आफ्नो टिम र उपकरण बोक्न सहज महसुस गर्नेछन् कि छैनन् भन्ने प्रश्न उठाए। जवाफमा सेठीले उनीहरु एकपटक मात्रै पाकिस्तान जानुपर्ने भएकाले बारम्बार यताउता गर्न समस्या नहुने बताए ।

त्यसैगरी, यदि भारतीय प्रसारणकर्ताहरू पाकिस्तानमा आउँदा कुनै समस्या भएमा, पीसीबीले पाकिस्तानमा टिभी उत्पादनको काम आफैले ह्यान्डल गर्ने प्रस्ताव पनि गरेको छ। जब दुबईको गर्मीको प्रश्न उठ्यो, सेठीले जवाफ दिए कि आईपीएल र एसिया कप समान मौसममा हुँदा त्यस्ता कुराहरू उल्लेख गरिएको थिएन।

एसीसीका अध्यक्ष जय शाहसँगको छलफलपछि प्रस्तावित कार्यतालिकाबारे एसीसीले जवाफ दिने अपेक्षा गरिएको छ ।

 

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१