
काठमाडौं । झरना थापा निर्देशित फिल्म ‘भगवत् गीता’ आगामी भदौ २९ गते रिलिज हुने भएको छ । निर्माता सुनिलकुमार थापाले उक्त मितिमा प्रदर्शन तय भएको जानकारी दिए ।
यसअघि भदौ १५ गतेलाई रिलिज मिति तय गरेको ‘भगवत् गीता’ भदौ २१ मा शाहरुख खान स्टारर बलिउड फिल्म ‘जवान’ आउने भएपछि भदौ अन्त्यमा पुगेको हो ।
‘हाम्रो फिल्म भदौ २९ मा आउने निश्चित भयो, सोहीअनुसारको काममा अघि बढ्छौं ।’ उक्त मितिमा दयाहाङ राई र मिरुना मगर स्टारर ‘नांगो गाउँ’ पनि आउँदैछ । स्टारकास्ट र मेकरको आधारमा यी दुवै फिल्म बक्स अफिसमा प्रतीक्षित मानिन्छन् ।
‘भगवत् गीता’लाई काठमाडौं उपत्यकामा गोविन्द शाहीको काफिया फिल्म्स र मोफसलमा निर्माता थापाकै त्रिनेत्रम डिष्ट्रिब्युसन कम्पनीले वितरण गर्नेछन् । आगामी जेठ पहिलो साता यो फिल्मको टिजर सार्वजनिक गर्ने तयारी रहेको निर्माता थापाले जानकारी दिए ।
‘भगवत् गीता’मा धीरज र सुहानासहित विपिन कार्कीको पनि शीर्ष भूमिका छ ।