इमरान खान पक्राउपछि पाकिस्तानमा चर्को झडप, ८ जनाले गुमाए ज्यान

इस्लामावाद । पूर्वप्रधानमन्त्री इमरान खानलाई गिरफ्तार गरेपछि पाकिस्तानभर भएका विभिन्न झडपमा कम्तीमा आठ जनाको मृत्यु भएको छ ।

ती झडपमा २९० भन्दाबढी घाइते भएका छन् । झण्डै एक हजार ९०० प्रदर्शनकारीलाई गिरफ्तार गरिएका छ ।

प्रहरी चौकीसहित विभिन्न सरकारी भवनहरू ध्वस्त भएका छन् ।

इस्लामावादको एक अदालतले बुधबार अल कादिर ट्रस्ट मुद्दामा पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानलाई आठ दिनको लागि हिरासतमा लिएपछि देशभर तनावको स्थिति सिर्जना भएको हाे ।

पीटीआईका अध्यक्ष समेत रहेका खानको गिरफ्तारीपछि हिंसात्मक प्रदर्शन सुरु भएको थियो । प्रहरी र पीटीआई समर्थकहरू बिचको रक्तपातपूर्ण झडपको नजितास्वरुप प्रहरी चौकीसहित धेरै सरकारी भवनहरूमा क्षति पुगेको छ ।

प्रहरीले बुधवार पीटीआईका केन्द्रीय महासचिव असद उमर र वरिष्ठ उपाध्यक्ष फवाद चौधरीलाई पनि पक्राउ गरिसकेको छ ।

बिग्रँदो अवस्थालाई नियन्त्रण गर्न सरकारले पञ्जाब, खैबर पख्तुनख्वा र इस्लामावादमा सेना परिचालन गरेको छ ।

प्रदर्शनकारीहरूले लाहोरस्थित ‘कोर्प्स कमाण्डर’को निवासमा आक्रमण गर्नुका साथै रावलपिंडीमा रहेको सेनाको मुख्यालयको गेट भत्काएपछि सरकारले सेना परिचालन गरेको हो ।

© 2023 All right reserved Site By : Himal Creation || सञ्चार रजिस्ट्रार दर्ता नं : ०००९७