बर्दियामा सर्पले डसेको बिरामीलाई प्रार्थना गर्न लगाउने महिला पक्राउ

काठमाडौं । सर्पले डसेको बिरामीलाई समयमै अस्पताल पुर्‍याउनुको साटो प्रार्थना गर्न लगाउने महिला पक्राउ परेकी छन् ।

बर्दियाको बासगढी नगरपालिका – २ बेतहनीकी ६० वर्षीया यमुना भनिने योगेन्द्रकुमारी घर्ती पक्राउ परेकी हुन् । घर्ती सच्चाइ धर्मको ‘धर्म गुरू’ रहेको प्रहरीले जानकारी दिएको छ ।

बुधबार राति १ बजेतिर सुतिरहेको समयमा बासगढी – ३ महादेवाकी १६ वर्षीया ओमकुमारी डाँगीलाई करेत सर्पले हातमा डसेको थियो । किशोरीका घर परिवारले ‘धर्म गुरू’ घर्तीलाई सर्पले डसेकोबारे बताएका थिए ।

जिल्ला प्रहरी प्रवक्ता डिएसपी हिक्मतबहादुर बोहोराका अनुसार ‘धर्म गुरू’ घर्तीले सर्पले डसेको कुरालाई सामान्य भन्दै अस्पताल लैजानु नपर्ने भन्दै प्रार्थना गरे ठिक हुने दाबीसहित त्यसै गर्न लगाएकी थिइन् ।

सर्पले डसेकी घाइतेलाई प्रार्थना गर्न लगाएको कुरा आसपासका अन्य छिमेकीहरूले थाहा पाएपछि उनीहरूले तत्कालै अस्पताल लैजान सल्लाह दिएका थिए । त्यसपछि मात्रै परिवारले डाँगीलाई भेरी अस्पताल नेपालगंज बाँके पुर्‍याएका थिए ।

आज बिहान पौने ९ बजेतिर अस्पताल पुर्‍याउना साथ डाँगीलाई चिकित्सकले मृत घोषणा गरेका थिए । डाँगीको मृत्युपछि ‘धर्म गुरू’ घर्तीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

सर्पले डसेकी बिरामीलाई सामान्य घटना भन्दै अस्पताल लैजान नदिई प्रार्थना गर्न लगाउने घर्तीलाई थुनामा राखेर घटना अनुसन्धान गर्न जिल्ला अदालबाट म्याद थप भइसकेको प्रहरीले जानकारी दिए ।

© 2024 All right reserved Site By : Himal Creation || सञ्चार रजिस्ट्रार दर्ता नं : ०००९७